कोशी प्रदेशमा युवतीको हत्या : अभियुक्त ६ वर्षपछि पक्राउ
मिति: २०२५-०६-०९ , समय : ०८:०९:०६ , गामघर डेस्क
मिति: २०२५-०६-०९ , समय : ०८:०९:०६ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मोरङको विराटनगरमा परिवारै मिलेर युवतीको क्रूरतापूर्वक हत्या गरिएको घटनामा संलग्न अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । हत्यामा संलग्नमध्ये विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ विराटनगर–१६ मा डेरा बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको ६ वर्षअघि हत्या भएको थियो ।
भाडाको कोठामा बसेर पसलमा काम गर्दै आएकी ईशा एसराजका छोरा २१ वर्षीय रेम्बो भनिने रुद्रराज लामासँग प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । रुद्रराजले घरमा बोलाएर घरपरिवारसमेतको मिलेमतोमा शरीरमा पेट्रोल छर्किएर ईशालाई २०७६ वैशाख ८ गते आगो लगाई घाइते बनाएको अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते ईशाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि रुद्रराज, उनका बुवा एसराज र आमा फरार थिए । प्रहरीले २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको भएपनि उनीहरु पक्राउ परेका थिएनन् ।फरार रहेकामध्ये एसराज पक्राउ परेका हुन् । रुद्रराज र उनकी आमा हालसम्म फरार छन् । युवतीको हत्यापछि रुद्रराज विदेश पुगेको जानकारी प्रहरीले प्राप्त गरेको छ ।उनलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो । आमा कहाँ छन् भन्ने प्रहरीले पत्तो पाएको छैन । तर, उनका बुवा एसराजलाई भने शनिबार घरबाटै पक्राउ गरिएको डीएसपी चुँडालले बताइन् ।उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-०९ , समय : ०८:०९:०६ , 2 months अगाडि