जितिया पर्व : मडुवाको रोटी र पोठिया माछ
जितिया पर्व थारू र मैथिल महिलाहरूले मनाउने महत्त्वपूर्ण पर्व हो, जसले आमा र बच्चाको प्रेम दर्शाउँछ। यो पर्व आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिनसम्म मनाइन्छ, जसमा महिलाहरू उपवास बस्छन्। जितिया पर्वमा जिमुतवाहनको पूजा गरिन्छ, जसको कथाले सन्तानको सुरक्षा र दीर्घायुको महत्त्व दिन्छ।
मिति: २०२५-०९-१३ , समय : १४:२८:५८ ,
अजयकुमार झा
अजयकुमार झा
राजविराज ।
जितिया पर्व थारू र मैथिल महिलाको एक प्रमुख पर्व हो, जसले आमाको आफ्नो बच्चाप्रतिको गहिरो प्रेम र परिवारको महत्त्वलाई प्रतिविम्बित गर्छ । ‘जितिया’ मिथिलाको एक विशिष्ट उपवास पर्व हो । यो एक मात्र यस्तो पर्व हो, जसको महत्त्व केवल उपवास र त्यो पनि नारीका लागि सीमित मानिएको छ । आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिनमा पूर्ण हुने जितिया पर्व नेपालको दक्षिणी र भारतको उत्तरी भूभागमा मनाइन्छ ।

जितिया पर्वप्रतिको धारणामा विविधता देखिन्छ । कतै सन्तानको पुत्र प्राप्ति, दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि जितिया उपवास लिने धारणा देखिन्छ भने कतै पितृलाई पिण्ड दिने भन्ने देखिन्छ । जे भए पनि यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्त्व उजागर गरेको छ । जितिया मनाइने समयको आधारमा विचार गर्दा यो पर्व पितृपक्षभित्र पर्ने भएकाले पितृलाई नै समर्पित रहेको भन्न सकिन्छ । पितृपक्षमा पुरुषले आफ्ना पितृलाई पिण्डदान गरेझैँ जितियामा नारीले आफ्ना पितृलाई पिण्ड दान गर्छन् । पितृ श्राद्धमा पुरुषले पितृलाई बालुवाको आधार बनाई अक्षताको पिण्ड अर्पित गर्दछ भने जितियामा महिलाले घिरौँला पातलाई आधार बनाई तोरीको खली (पिना)को पिण्ड अर्पित गर्दछ । पितृलाई पिण्ड दिने अधिकार सबै पुरुषलाई हुँदैन । दाजुभाइहरूमा जो जेठो छ, उसैले पिण्ड दिनुपर्ने भएकाले अन्य भारदार यस्तो दायित्वबाट मुक्त रहन्छन् ।

जितिया व्रत एक उपवास हो, जो आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन लिइन्छ । उपवासको अवधि एक दिन–रात मात्र भए पनि पर्वको सम्पादनमा तीन दिन लाग्छ ।
पहिलो दिन बेलुका कोदोको रोटी र माछा खाने चलन छ । दोस्रो दिन बिहान नहाइ–खाइ गर्ने र रातको चौथो प्रहर सुरु भएपछि ओटघन खाने चलन छ । ओटघनमा चिउरा, दही र अम्मट (सुकाएर राखिएको आँपको रस) खाने गरिन्छ । तेस्रो दिन उपवास बसिन्छ, जो निर्जला हुन्छ । अष्टमीको तिथि भोलिपल्ट अबेरसम्म गएमा खरजितिया भनिन्छ । अष्टमी सकी नवमी प्रारम्भ नभएसम्म पारण गर्न पाइँदैन । खरजितिया परेको वर्ष जितियाको चर्चा केही बढी हुन्छ ।
जितिया पर्व भारतको उत्तरी तथा नेपालको दक्षिणी भागमा मनाइन्छ । नेपालको पहाडी इलाकामा बसोवास गर्ने ब्राह्मण महिलाले जितियाकै झझल्को दिने व्रत अर्थात् तिज उपवास जितियाको तीन साताअघि भाद्र शुक्ल तृतीयाकै दिन लिन्छन् । तिज र जितिया व्रतमा धेरै समानता रहेको देखिन्छ । तिज व्रत मध्य भारतमा पनि निकै महत्त्वका साथ मनाइन्छ ।
जितिया व्रत हरेक आमाले आफ्नो सन्तानको लामो आयु र सुख शान्तिको कामनाले लिन्छन् । यस दिन व्रतालुले कठोर निर्जला व्रत लिन्छन् र प्रदोष कालमा जिमुतवाहनको विधि–विधानले पूजा गरी व्रत कथा श्रवण गर्छन् । जितिया व्रत अत्यन्तै कठोर व्रत मानिन्छ । त्यसैले व्रतको तयारी गर्दा व्रतालुले टन्नै खानुपर्छ । भोजन कत्तिको गर्नुपर्छ भन्ने सन्देश दिन एक मिथिलामा एउटा उखान नै प्रचलित छ, ‘जितिया पावैं बड भारी, धियापुताके ठोइक सुताबी, अपना खाय भैर थारी ।’ त्यस्तै ‘मडुवाके रोटी आ पोठिया माछ’ जितियाको खास लोकोक्ति पनि हो ।

यस प्रकार के देखिन्छ भने विवाहित महिलाहरूले आफ्ना सन्तानहरूको दीर्घायु, खुसी र कल्याण सुनिश्चित गर्न जितिया व्रत बस्छन् । यो व्रत आश्विन कृष्ण पक्षको अष्टमी तिथिमा लिइने भए पनि यो बहुदिवसीय पर्व हो, जुन सामान्यतया लगातार तीन वा कहिलेकाहीँ चार दिनसम्म रहन्छ ।
यस पर्वको विधि व्यवहारको कुरा गर्दा व्रतालुहरूले पहिलो दिन नदी वा पोखरीमा स्नान गर्छन् र बढी शक्ति प्राप्त हुने किसिमको खाना खान्छन् । दोस्रो दिन पानी पनि नपिई २४ घण्टाको उपवास लिइन्छ । व्रत लिएको समय अवस्थामा व्रतालुहरू जितिया व्रत कथा श्रवण गर्छन् ।
यस पर्वको केन्द्रमा जितवाहनको पूजा रहेको छ । जितियाको पूजा व्रतालुहरूले एक्लै आफ्नो आँगनमा वा सामूहिक रूपमा कुनै देवस्थलमा भेला भएर गर्न सक्छन् । पूजा सकेर त्यहीँ व्रत कथा श्रवण गर्छन् । व्रतालु महिलाहरू यस पर्वमा एकसाथ भेला भएर व्रत अनुष्ठानमा सहभागी हुँदाको अवस्था तिज पर्वको भान दिन्छ ।
यस वर्षको जितिया यसै साता आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म अर्थात् यो पर्व २०८२ असोज २८–३० गते आयोजन हुन्छ ।
जितिया पर्वभित्र जिमुतवाहन नामक गन्धर्व राजकुमारको वीरताको कथा छ, जसले गरुडबाट नागहरूको रक्षा गरेका थिए । जितिया व्रतलाई जितपुत्रिका व्रत पनि भनिन्छ, सन्तानको सुरक्षा र दीर्घायुका लागि समर्पित छ । यस व्रतमा आमाहरूले जिमुतवाहनको पूजा गर्छन् र उनको वीरताको कथा श्रवण गर्छन् ।
भविष्य पुराणलाई विषयवस्तु एवं वर्णनशैलीका दृष्टिले अत्यन्त उच्च कोटिको पुराण मानिन्छ । यो पुराण धर्म, सदाचार, नीति, उपदेश, व्रत, तीर्थ, दान, ज्योतिष, आयुर्वेद आदि विषयहरूको अद्भुत सङ्ग्रहका साथै आख्यानै आख्यानले भरिएको छ । वेताल–विक्रम संवादका रूपमा पनि अत्यन्त रोचक कथा–प्रबन्धहरू समावेश गरिएका छन्, जो वेताल पच्चिसीका नामले पनि प्रसिद्ध छ । यसका साथै यसमा नित्यकर्म, संस्कार, कर्म, आराधना र अनेक व्रतहरूको समेत विस्तृत वर्णन गरिएको छ । प्रसिद्ध श्री सत्यनारायण व्रत कथा यसै पुराणमा समावेश रहेको छ । जितिया पर्वको पनि सर्वप्रथम वर्णन यसै भविष्य पुराणमा पाइन्छ ।
कथा
भविष्य पुराण ब्राह्म, मध्यम, प्रसर्ग र उत्तर गरी चार पर्वमा विभक्त छ । यिनै प्रतिसर्गपर्वको द्वितीय खण्डमा वेताल–विक्रमादित्य संवाद भागमा ‘जीवन दानको आदर्श’को अर्थमा ‘जिमुतवाहन र शंखचूडको कथा’ शीर्षक समावेश गरिएको छ, जो जितिया पर्वको आधार हो । जितिया व्रतको मूल ध्येय ‘जीवनको रक्षा’ जिमुतवाहनको जीवनसँग जोडिएको जीवन दानको आदर्शबाट प्रभावित छ ।
रुद्रकीकर वेतालले राजा विक्रमादित्यलाई भने, ‘महाराज ! कान्यकुब्ज (कन्नौज) मा एक ब्राह्मण थिए, जो परोपकारी, सत्यवादी र देवीका भक्त थिए । प्रतिग्रहबाट प्राप्त रकम दान गर्थे । शारदीय नवरात्र पर्वको आगमन भयो । उनले नौ दिन निराहार रहेर व्रत पूरा गरे । व्रतको अवसानमा कुमारी भोजनका लागि कुमारीहरूलाई आमन्त्रित गरी कुमारी भोजनको व्यवस्था निम्ति प्रतिग्रहका लागि निस्के । उनले अनेक दैलो चहारे, तर प्रतिग्रह पाएनन् । त्यसैले उनी धेरै चिन्तित भए । तर देवीको कृपाले उनलाई अचानक पाँचवटा सिक्का प्राप्त भयो । उनले कुमारी भोजन गराई अनुष्ठान पूरा गरे । त्यही पुण्य प्रतापले मृत्युपछि उनले दिव्य स्वरूप प्राप्त गरी विद्याधारीहरूको स्वामी जिमुतकेतु बने । उनी हिमालय पर्वतको सुन्दर ठाउँमा बस्थे । त्यहाँ पनि भक्तिपूर्वक कल्पवृक्षको पूजा गर्थे । कल्पवृक्षको प्रभावबाट उनले सबै कलामा निपुण पुत्र प्राप्त गरे, जसको नाम जिमुतवाहन भयो ।
जिमुतवाहन पूर्वजन्ममा मध्यदेशका शूरसेन नामका राजा थिए । पूर्वजन्मको कुरा हो, राजा शुरसेन शिकार गर्दै महर्षि वाल्मीकिको निवास उत्पलावर्तम नामक वन पुगे । त्यस दिन चैत्र शुक्ल नवमी परेकाले उक्त कुटीमा श्रीराम नवमी मनाइँदै थियो । राजा शूरसेन महर्षिको कुटीमा राममयी गाथा सुन्नेदेखि रात्रि जागरणमा समेत सहभागी भए । त्यसै पुण्यका कारण राजा शूरसेन यस जन्ममा जिमुतकेतुको पुत्रको रूपमा जिमुतवाहन नामक विद्वान दिव्य पुरुष भए ।

महात्मा जिमुतवाहनले कल्पवृक्षको भक्तिपूर्वक पूजा गरे । कल्पवृक्षले खुसी भएर उनलाई वरदान माग्न भने । जिमुतवाहनले भने, ‘महावृक्ष ! तपाईंको आशीर्वादले मेरो नगर समृद्ध बनोस् । कल्पवृक्षले त्यस नगरलाई धरतीकै उत्कृष्ट नगर बनाई दिए । तत्पश्चात् दुवै बाबु छोरा तपस्या गर्न अति सुन्दर मलायाचल वनमा गएर कठोर तपस्या गरे ।
वेतालले भने, राजन ! एक दिन राजा मलयध्वजकी छोरी कमलाक्षी सखीहरूका साथ शिवजीको पूजा गर्न शिव मन्दिरमा आइन् । त्यही बेला जिमुतवाहन पनि पूजा गर्न मन्दिर आई पुगे । सम्पूर्ण गहनाले सजिएकी दिव्य राजकुमारीलाई देखेर जिमुतवाहनको मनमा उनलाई पत्नीको रूपमा प्राप्त गर्ने इच्छा जाग्यो र उनले यसका लागि महादेवसित प्रार्थना पनि गरे । अन्ततः राजा मलयध्वजले उनको विवाह जिमुतवाहनसँग गराइदिए ।
एक दिन राजा मलयध्वजका छोरा विश्ववसु भिनाजु जिमुतवाहनका साथ गन्धमादन पर्वतमा गए । त्यहाँ भगवान् नारायणको दर्शन गरे । भगवान नारायणका वाहन गरुड पनि आफ्नो शिखरमा आइपुगेको थियो । उता शङ्खचूड नामक एक नागकी आमा विलाप गरिरहेकी थिइन् । वृद्धाको चित्कार सुनेर दिनवत्सल जिमुतवाहनले वृद्धालाई सान्त्वना दिँदै सोधे, ‘तिमीले किन विलाप गरिरहेकी छौ ? तिमीलाई के दुःख परेको छ ?’ उनले भनिन्, ‘हे भगवान ! आज मेरो छोरो गरुडको भक्ष्य बन्नेछ, म उसको विछोडको शोकले रोइरहेकी छु । त्यो सुनेर जिमुतवाहन गरुड शिखर गए । गरुडले आफ्नो आहारा ठानी उनलाई टिपेर उडे ।
आफ्नो पतिलाई गरुडले लिएर उडेको देखेर जिमुतवाहनकी पत्नी कमलाक्षी विलाप गर्न थालिन् । उता जिमुतवाहनलाई पीडाविनाको मानव रूपमा देखेर गरुड डराए र जिमुतवाहनलाई भने, ‘तिमी किन मेरो शिकार बन्यौ ?
त्यसमा उनले भने, ‘शङ्खचूड नागकी आमा धेरै दुःखी थिइन्, म उनको छोराको रक्षा गर्न तपाईंकहाँ आएको हुँ ।’
उता जब शङ्खचूड नागलाई यो घटना थाहा भयो, उनी दुःखी भए र तुरुन्तै गरुडकहाँ आएर भने, ‘कृपासागर ! म तपाईंको आहारका लागि उपस्थित छु । महामते ! यो महात्मालाई छोडेर मलाई आफ्नो भोजन बनाउ ।’
जिमुतवाहनको महानता र परोपकारी भावना देखेर गरुड धेरै खुसी भए र जिमुतवाहनलाई तीन वरदान दिए— अब म भविष्यमा शङ्खचूडका सन्तानलाई कहिल्यै खानेैन । सर्वश्रेष्ठ जिमुतवाहन ! विद्वान्को नगरमा तिमीले उत्तम स्थान प्राप्त गर्नेछौ र एक लाख वर्षसम्म सुख भोगेर वैकुण्ठ प्राप्त गर्नेछौ । यति भनेर गरुड गायब भए र जिमुतवाहनले पिताबाट राज्य प्राप्त गरी आफ्नो पत्नीका साथ राजसुख भोगेर अन्त्यमा वैकुण्ठ प्रस्थान गरे ।
यस कथाका अनेक अर्थ छन् । जस्तै ः कथाको अन्त्यमा वेतालले विक्रमादित्यलाई प्रश्न गर्छन् कि जिमुतवाहन र शङ््खचूड दुवैले एक अर्कोको ज्यान बचाउन आ–आफूलाई मृत्युको मुखमा पुर्याएका हुन् । अब भन्नुहोस् कि उनीहरूमा महान् र साहसी को हुन् ? कथाकारले प्रजाका लागि ज्यान अर्पिने राजाभन्दा त्यस्तो राजाका लागि ज्यान दिने प्रजालाई महान् र साहसी देख्छन् । तर जितिया व्रत ती आमाको कृत्यको प्रेरणा हो, जसले आफ्नो छोराको जीवन रक्षाको लागि विलाप गरिन् ।
हाम्रो सांस्कृतिक धारणामा नाग भनेको सर्प र गरुड भनेको पन्छी हो, तर नाग भन्नाले मनुष्यको एक जाति भन्ने पनि बुझिन्छ । मत्स्य पुराणमा पर्वतीय जातिहरूको वर्णन गर्दा गन्धर्व, किन्नर, यक्ष, राक्षस, विद्याधर, किम्पुरुष, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ । नाग जातिको नाममा नागाल्यान्ड भन्ने भारतको एक पूर्वोत्तर राज्य अहिले पनि विद्यमान छ । शिव पुराण र विष्णु पुराणका अनुसार नाग जाति र गरुड जातिका बिच नाग जातिलाई सिध्याउने गरी पटकपटक सङ्घर्ष भएको थियो । पुराणहरूले नाग जातिको सम्बन्ध शिवसित, गरुड जातिको सम्बन्ध विष्णुसित भएको र गरुड नागहरूको वैरभाव भएको सन्दर्भ पनि दिन्छन् । माथिको सन्धि सन्दर्भले शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीका बिच सङ्घर्ष र सम्झौता भएको सङ्केत दिन्छ, तर बुद्ध धर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ । कतै यसको दोष देखाइएको पाइन्न ।
नाग जातिको रक्षाका लागि महादेव सामुन्ने आएझैँ यस कथाबाट अर्को प्रकरणमा जिमुतवाहन उपस्थित हुन आएको भन्न सकिन्छ, तर जितिया व्रतको दृष्टिबाट हेर्दा यस कथाको मूल भाव सन्तानको रक्षा निम्ति आमाको क्रन्दन भन्ने भाव नै उत्पन्न हुन्छ ।
कालान्तरमा जिमुतवाहनको कथामा अनेक प्रसङ्ग पनि जोडिँदै गएको देखिन्छ । एक कथा अनुसार जिमुतवाहन गन्धर्वहरूका राजा थिए । जिमुतवाहन शासक बनेर सन्तुष्ट भएनन् र फलस्वरूप उनले आफ्नो राज्यको सम्पूर्ण जिम्मेवारी आफ्ना भाइहरूलाई दिएर आफ्नो पिताको सेवा गर्न वन गए । एक दिन जङ्गलमा घुम्दै गर्दा उसले एउटी वृद्धालाई विलाप गरिरहेको देखे । उनले वृद्धालाई रुनुको कारण सोधे ।
वृद्धाले आफू (नागवंशी) परिवारको भएको र आफ्नो एउटा मात्र छोरा रहेको बताए । पक्षीका राजा गरुडलाई हरेक दिन सर्प चढाइन्छ र त्यो दिन उनको छोराको पालो थियो । उनको समस्या सुनेर जिमुतवाहनले आफ्नो छोरालाई जिउँदै ल्याउने आश्वासन दिए । त्यसपछि उनी आफैँ चट्टानमा पल्टिन्छन्, गरुडको चारो बन्ने सोच्छन् । त्यसपछि गरुड आएर रातो कपडाले ढाकेको जिमुतवाहनलाई औँलाले समातेर चट्टानमा चढ्छन् । आफूले समातेको व्यक्तिले किन प्रतिक्रिया दिइरहेको छैन भनेर उनी आश्चर्यमा पर्छन् । त्यसपछि उसले जिमुतवाहनलाई उनीहरूका बारेमा सोध्छ । त्यसपछि जिमुतवाहनको परोपकारबाट प्रशन्न गरुडले सर्पको बलि नलिने प्रतिज्ञा गरे । त्यसै बेलादेखि सन्तानको दीर्घायुका लागि जितिया व्रत बस्ने गरिन्छ ।
ऐतिहासिक तथ्यका अनुसार जिमुतवाहन १२औँ शताब्दीमा धर्म र कानुनका विद्वान् थिए । उनले दयाभाग नामक एक ग्रन्थको रचना गरे । दयाभागले पिताको सम्पत्तिमा सन्तानको हकसम्बन्धी व्यवस्था गरेको छ । भविष्य पुराणका जिमुतवाहन कन्नौजका थिए भने दयाभागका जिमुतवाहन बङ्गालका थिए । यसबाट जिमुतवाहन दुई अलग–अलग व्यक्ति थिए कि एकै । तर एक वा दुई जे भए पनि सन्तानकै हक र अधिकारसँग जोडिएका भएकाले जितिया व्रत सन्तानको कल्याणार्थ भगवान् जिमुतवाहनको आराधना हो भन्ने स्पष्ट हुन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।) राताेपाटिबाट
प्रकाशित मिति: २०२५-०९-१३ , समय : १४:२८:५८ , 6 days अगाडि