फागुन २१ गते हुने निर्वाचनका लागि ६३ दलले बुझाए समानुपातिकको बन्दसूची…

निर्वाचन आयोगले तोक्यो उम्मेदवारका लागि खर्च सीमा, खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने

मिति: २०२५-१२-३० , समय : ०९:२०:०९ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन्।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म समानुपातिकतर्फ कुल ६३ वटा राजनीतिक दल दर्ता भएका हुन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ ।नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिह्न पाएका छन् । जसमा ५४ वटा राजनीतिक दलहरूले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन्। अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिह्नमा ४ वटा निर्वाचन चिह्न लिएर दर्ता भएका छन्।समानुपातिकतर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन् ।
यस्तै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ।निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन्। त्यसमा काठमाडौं क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन्। यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ।त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन्। आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ। त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ।उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रकाशित मिति: २०२५-१२-३० , समय : ०९:२०:०९ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित