सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको कडाइ

निर्वाचन आयाेगले हर्क साम्पाङ, शक्ति बस्नेत र हिक्मत कार्कीलाई स्पष्टीकरण सोध्यो

मिति: २०२६-०१-२६ , समय : १५:३२:०२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डौ । निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै गएको छ । प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग थप पेचिलो बन्दै गएको छ । सामाजिक सञ्जालमा विदेशी भारतीय नम्बर प्लेटका गाडीहरुको प्रयोग, उम्मेदवारको मानमर्दन हुने गरी नाराबाजी, भ्रामक भिडियो तथा तस्बिर प्रसारणजस्ता गतिविधि बढ्दै गएका छन् ।

यस्तै, उम्मेदवारी दर्ताका क्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने र तडकभडक गर्न नहुने निर्वाचन आचारसंहिता धेरै दल र उम्मेदवारले उल्लङ्घन गरेको पाइएको छ । प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग, दलका झण्डा–ब्यानरसँगै तस्बिर तथा भिडियो सार्वजनिक हुनु, कतिपय दल र उम्मेदवारले प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसको दुरुपयोग भएको भन्दै आलोचना पनि भइरहेको छ ।

यसैलाई मध्य नजर गर्दै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम माथि सूक्ष्म निगरानी भइरहेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावका बेला प्रवाह हुने मिथ्या, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिलाई निरुत्साहित तथा नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने बताउनुभएको छ ।

२०७९ सालको निर्वाचनमा गरिएको पहललाई यसपटक अझ प्रभावकारी बनाइने उहाँको भनाइ छ । एआईलगायत प्रविधिको प्रयोग गरेर विपक्षीको चरित्र हत्या र नागरिकमाझ भ्रम फैलाउने प्रयासलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका अनुसार पछिल्लो एक हप्तामा आठ वटा हानिकारक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कानूनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपाल, नेपाल प्रहरीको साइबर ब्यूरो र आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ ।

आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीसँग सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गलत, भ्रामक तथा गालीगलौजयुक्त अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर असर पार्ने भएकाले त्यसको नियन्त्रणका लागि पहल भइरहेको छ ।

यसका लागि आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्ध्दन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । यस्तै चुनावकाबेला डिजिटल माध्यमको दुरुपयोग रोक्न गृह मन्त्रालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रभावकारी रूपमा परिचालन गर्न पत्राचार गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो साइबर ब्यूरोको कार्यालय पुगेर अनुगमन तथा निर्देशन दिनुभएको छ । ब्यूरोलाई निर्वाचनसँग सम्बन्धित साइबर गतिविधिको निगरानी, विश्लेषण र आवश्यक कारबाहीका लागि अनुसन्धान गर्ने कार्यादेश दिइएको छ ।

यता निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । यही माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको आयोगले आफ्नो तर्फबाट अनुगमनसहित उजुरीका आधारमा पनि आचारसंहिता उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ ।

आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । यस्तै नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा सरकारी गाडी चढेर गएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको छ ।

द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा आयोगले काठमाण्डाै–४ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ ।

प्रकाशित मिति: २०२६-०१-२६ , समय : १५:३२:०२ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित