सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेण्डा : अध्यक्ष कुलमान घिसिङ

मिति: २०२६-०२-०६ , समय : १८:५०:०६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेण्डा रहेको बताउनुभएको छ।
पार्टीको प्रचारप्रसार तथा नेता–कार्यकर्ता भेटघाट कार्यक्रमका लागि सप्तरी आउनुभएका घिसिङले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी राजनीतिलाई अब भाषणमा मात्र सीमित राख्न नमिल्ने बताउनुभयो।
उहाँले देशको आर्थिक, शैक्षिक तथा हरेक क्षेत्रमा परिवर्तनका लागि जनता र राष्ट्रको हितमा काम गर्ने नेतालाई निर्वाचित गर्न आवश्यक रहेको बताउनु भयो । राजनीति गर्ने ठुला नेताले भाषण र घोषणापत्र सार्वजनिक गर्ने तर काम नगर्ने प्रवृत्ति हावी हुँदै गएकाले भाषणभन्दा कामलाई प्राथमिकता दिने नेता छानिनुपर्नेमा उहाँले जोड दिनुभयो।
खेतखेतमा सिँचाइ पु¥याएर किसानलाई कृषिमा आत्मनिर्भर बनाउन सके मात्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिने उहाँको भनाइ थियो। उहाँले कृषिमा लागेका किसानलाई न्यून शुल्कमा विद्युत् उपलब्ध गराउन र कृषिलाई व्यवसायीकरण गर्दै बजारीकरण गर्न आवश्यक छ। आर्थिक रूपमा सबलीकरणका लागि आयात घटाउने र निर्यात बढाउने कार्यका साथै उत्पादनको राज्यले सुनिश्चितता गर्नुपर्छ।
नेपालका धेरै पुल अलपत्र अवस्थामा रहेकाले जनताले दुःख पाइरहेको उल्लेख गर्दै अधुरा र अलपत्र भौतिक पूर्वाधार निर्माण गरी व्यवस्थित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। तराईका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको र बनिसकेका नहरमा पानी ल्याउनका लागि गर्नुपर्ने व्यवस्थापनमा समेत आफ्नो पार्टीले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
मन्त्री र विद्युत् प्राधिकरणको जिम्मेवार पदमा रहँदा लोडसेडिङ अन्त्य, सिँचाइमा विद्युतीकरण, निःशुल्क मिटर वितरण, २० युनिटसम्म विद्युत् महसुल छुट र किसानका लागि निःशुल्क सिँचाइ लगायतका उल्लेखनीय काम गरेको उहाँले स्मरण गराउनुभयो।
गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, रोजगारीमा वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफ्नो पार्टीले निरन्तर काम गर्ने उहाँले बताउनुभयो।
उहाँले कृषि क्षेत्रमा रासायनिक मलको अभावले किसानलाई ठूलो समस्या भइरहेको उल्लेख गर्दै मल स्वदेशमै उत्पादन गर्नुपर्नेमा जोड दिनु हुदै हाइड्रोपावर प्रयोग गरेर पानीबाट हाइड्रोजन उत्पादन गरी अमोनिया र युरिया बनाउन सकिने सम्भावना रहेको बताउँन भयो । उहाँले नेपालका जलस्रोतलाई खानेपानी, ऊर्जादेखि हाइड्रोजन उत्पादनसम्म प्रयोग गरी समृद्धिको आधार बनाउन सकिने बताउनुभयो। अध्यक्ष धिसिङले राम राजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । औद्योगिक विकासतर्फ ध्यानाकर्षण गराउँदै उहाँले सप्तरीको पुरानो गजेन्द्र नारायण सिहं औद्योगिक क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । पार्टी सरकारमा आएपछि औद्योगिक क्षेत्र तत्काल व्यवस्थापन गरी उद्योग भित्र्याएर स्थानीय युवालाई रोजगारी दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो ।
शिक्षा क्षेत्रमा तराईका धेरै जिल्लामा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको उल्लेख गर्दै अध्यक्ष धिसिङले शैक्षिक गुणस्तर सुधार अत्यावश्यक भएको बताउनुभयो। कम पास दरले विद्यार्थी विदेश पलायन बढाएको भन्दै उहाँले सामुदायिक विद्यालयमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने धारणा राख्दै शिक्षा कलेज तहसम्म निशुल्क र गुणस्तरीय बनाउनुपर्ने उज्यालो नेपाल पार्टीको नीति रहेको बताउनुभयो।
स्वास्थ्य क्षेत्रबारे उहाँले गाउँ–गाउँमा स्वास्थ्य चौकी भए पनि जनशक्ति अभावका कारण सेवा प्रभावकारी नभएको बताउनुभयो। स्वास्थ्य र शिक्षा दुवै नागरिकले निशुल्क र सर्वसुलभ रूपमा पाउनुपर्ने पार्टीको प्रतिबद्धता रहेको उहाँले स्पष्ट पार्नु भयो ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : १८:५०:०६ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित