मधेशको लाइफलाइन हुलाकी सडक ३० वर्षमा पनि अधुरै रहनुमा कांग्रेस र कम्युनिष्ट सरकार जिम्मेवार रहेको उपेन्द्र यादवको दाबी
मिति: २०२६-०२-१० , समय : २०:१५:३७ , गामघर डेस्क
मिति: २०२६-०२-१० , समय : २०:१५:३७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजगढ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको लाइफलाइन हुलाकी सडक ३० वर्षमा पनि अधुरै रहनुमा कांग्रेस र कम्युनिष्ट सरकार जिम्मेवार रहेको बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३, नर्घोमा मङ्गलबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रणनीति तहत मधेशलाई पछाडि पार्ने काम भएको बताएका हुन् ।
पहाडका जिल्लाहरु सुगम हुँदै गए पनि मधेशमा अझै बाटोघाटोको अभाव रहेको बताउँदै उनले भने ‘मधेशको लाइफलाइन हुलाकी सडक ३० वर्षमा पनि अधुरै छ तर मदन भण्डारी द्रुत मार्ग छोटो समयमै निर्माण सम्पन्न भएको छ, यस्तो हुनुमा कांग्रेस र कम्युनिष्ट सरकार जिम्मेवार छ ।’ हुलाकी सडक निर्माणका लागि भारत सरकारबाट रकम समेत नेपाल सरकारले प्राप्त गरिसकेको भए पनि अझैं निर्माण कार्य अलपत्र रहेको जसपा अध्यक्ष यादवले टिप्पणी गरे ।
महेन्द्र राजमार्ग बनाउन तत्कालीन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरला नेहरु बीच सहमती भएको स्मरण गर्दै हालको मधेश भूभागमा पर्ने जिल्लाका सदरमुकामहरु हुँदै लानुपर्नेमा मधेशका जिल्लाहरुलाई पछाडि पार्ने नियतले नेपाली भएको ठाउँबाट लान भनेपछि जङ्गल फडानी गरेरे राजमार्ग बनाएको उनले चर्चा गरे । यसैगरी बारा जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन काम अगाडि बढाइए पनि ४ अर्ब मुआब्जामा खर्च गरेर पनि पछिल्लो समय काम अगाडि बढ्न नसकेकोमा गुनासो गर्दै उनले भने ‘ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको भए संसारका विभिन्न देशका हवाइ जहाज अवतरण हुनेथियो र बाराको मात्र नभई मधेशको विकास हुनेथियो ।’
सुनकोसी मरिन डाइभर्सनबाट मधेशको लाखौं विघा जग्गा सिंचाइ गर्ने योजनाको ९० प्रतिशत काम पुरा भएको अवस्थामा वर्तमान सरकारले ठेक्का समेत तोडेर काम बन्द गराइदिएको भन्दै जसपा अध्यक्ष यादवले आपत्ति जनाए । मधेशमा विकासका ठूला योजनाहरु कांग्रेस कम्युनिस्ट सरकारले सम्पन्न हुन नदिएको आरोप लगाउँदै उनले भने ‘ती पार्टीहरु मधेशी जनताको भोंट लिएर जाने तर विकास नगर्ने प्रवृति छ, अधिकार र विकासका लागि मधेशकै शक्तिलाई मजबुत बनाएर पठाउनुपर्छ ।’
विगतमा चुनाव जितेर गए पनि विकास नगर्ने जनतालाई ठगेका नेताहरुलाई कामको आधारमा मूल्याङ्कन गरेर मात्र भोट दिन उनले मतदातासँग आग्रह गरे । सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने ‘विगतका प्रतिनिधिहरुले विकास र अधिकारको लडाइ लडेकै हो भने भोट दिउँ, यदि ठगी गरेको छ भने त्यस्ता उम्मेदवारलाई जवाफ दिएर पठाऔं ।’ आफु सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य हुँदा विगत ५० वर्षमा हुन नसकेको विकासीय काम अगाडि बढेको स्मरण गर्दै ती कामहरु त्यहाँका जनप्रतिनिधिले पूर्णतासम्म दिन नसकेकोमा अध्यक्ष यादवले दुख व्यक्त गरे । 
साे पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित चुनावी छलफल तथा भेंटघाटका क्रममा जसपा नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य किरण साह, केन्द्रिय सदस्यहरु पुष्पा ठाकुर, बिदेश्वर प्रसाद यादव बिक्की, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, जिल्ला सचिव जयनारायण यादव, युवा नेता सुरेन्द्र प्रसाद यादव, तत्कालिन नर्घो गाउँविकास समितिका पूर्व अध्यक्ष मुसहरु यादव, पूर्व वडा अध्यक्ष ललित प्रसाद सिंह, समाजवादी विद्यार्थीका जिल्ला अध्यक्ष महेश प्रसाद यादव लगायतले आ–आफ्नो धारणा राखे ।
अध्यक्ष यादवसहितका नेताहरुले राजगढ गाउँपालिकाको वडा नम्बर ३ को कट्टी, नर्घो पुबारी टोल, दक्षिणबारी टोल, झहुरा चौक र पछबारी टोलमा आयोजित छलफल तथा भेंटघाट कार्यक्रममा सहभागी भएका छन् ।
प्रकाशित मिति: २०२६-०२-१० , समय : २०:१५:३७ , 9 hours अगाडि