मधेश मुक्तिको लागी जस्तोसुकै सङ्घर्ष गर्न तयार : जसपा अध्यक्ष उपेन्द्र यादव

मिति: २०२६-०२-१८ , समय : २०:४७:५० , गामघर डेस्क

गामघर डेस्क

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको भएको भन्दै यसका लागि जस्तोससुकै सङ्घर्ष गर्न तयार रहेको बताएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो अडान दोहोर्याएका हुन् । सङ्घीयता मधेश जनविद्रोहबाट स्थापित भएको चर्चा गर्दै सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले भन्नु भयो ‘सङ्घीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, अझैं पनि चाहेको छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले त झन सङ्घीयता खारेज गर्ने दाउमा छन्, उक्त पार्टीले प्रदेशमा उम्मेदवारसम्म खडा गरेन, तर अधिकारसम्पन्न सङ्घीयता र मधेशको मुक्ति हाम्रो मूल लक्ष्य हो, यसका लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार छौँ ।’
देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र भएको चर्चा गर्दै अन्य प्रदेश नदीहरुको नामबाट हुनु अत्यन्तै अव्यवहारिक रहेको उहाँले बताउनु भयो । मधेश प्रदेश नामांकरणका समयमा पनि कांग्रेस एमाले मधेश प्रदेश हुन नदिन जानकी, जनक आदि इत्यादिको अडानमा रहेको चर्चा गर्दै जसपा नेपालका अध्यक्ष यादवले भन्नु भयो ‘मधेश केन्द्रित दलहरुको दुई तिहाइ बहुमत नभएको भए मधेश र मधेशीको पहिचानमा आधारित मधेश प्रदेश बन्ने थिएन, अझैं प्रदेशलाई अधिकारसम्पन्न बनाउन हाम्रो सङ्घर्ष जारी छ ।’
देशका मधेशी लगायत अझैं पनि उपेक्षित उत्पीडित समुदायले अधिकारकालागि सङ्घर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउँनुहुदै अध्यक्ष यादवले भन्नु भयो ‘मेचीदेखि महाकालीसम्म २२ जिल्लाको भूभाग मधेश हो, तर त्यसलाई विभाजित हुने काम भयो, अझैं पनि मधेशीलाई अवसरबाट वञ्चित गरिएको छ, देशको आधा भन्दा बढी जनसङ्ख्या मधेशीको छ, तर प्रहरी प्रशासन, कर्मचारीमा एकल जातीय वर्चश्व हाबी छ, ७७ जिल्लाका सिडियोमा ६५ जना खस बाहुनहरु मात्र छन् ।’ समान अवसर र बराबरको हिंस्सेदारीका लागि संविधान ंसंशोधन तथा पुनर्लेखन आवश्यक रहेकोले मधेशी लगायत शोषित उत्पीडित जनताले जसपा नेपाललाई बलियो शक्ति बनाएर पठाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
अहिले सङघीयता, प्रदेश तथा आरक्षण विरोधी शक्तिहरु मधेशी जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको भन्दै युवा विद्यार्थीहरुलाई सजग हुन आग्रह गर्नु भयोे । मधेशलाई बर्वाद पार्न शिक्षालाई धारासायी बनाएको टिप्पणी गर्दै अध्यक्ष यादवले भन्नु भयो ‘मधेशमा विद्यालय तथा कलेजहरुमा शिक्षक छैन, गुणस्तरीय पढाइ हुँदैन, जनशक्ति नै कमजोर भएपछि लोकसेवा, शिक्षक सेवा लगायतका परीक्षा पास गर्न समस्या हुनु स्वाभाविक हो, रणनीति तहत मधेशको शिक्षा ध्वस्त पारियो ।’ आगामी चुनावबाट भाग्य भविष्य समेत लेखिने भएकोले मधेश विरोधीहरुको भ्रम र झुठा आश्वानलाई चिर्दै अगाडि बढ्न समेत उहाँले युवा विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
घरदैलो लगायतका कार्यक्रममा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य किरण साह, मधेश प्रदेश सभाका पूर्व उपसभामुख उपमा देव, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), केन्द्रीय सदस्यहरु पुष्पा ठाकुर, रमिला साह, समानुपातिक उम्मेदवार चन्देश्वर सदा, चुल्हाइ मण्डल, निर्मल कुमारी मण्डल,समाजवादी युवा विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष मनिष यादव, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, विद्यार्थीका जिल्ला अध्यक्ष महेश प्रसाद यादव लगायतका नेताहरु सहभागी छन् ।
साे चुनावी अभियानका क्रममा राजगढ गाउँपालिकाको मलेकपुरमा आयोजित सभालाई समेत अध्यक्ष यादवले सम्बोधन गरेका छन् । यसैगरी धौनकी, सदा टोल लगातयका गाउँहरुमा घरदैलो गरिएको छ ।

प्रकाशित मिति: २०२६-०२-१८ , समय : २०:४७:५० , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित