प्रदेश खारेज गरेर पुनः मधेशी जनतालाई गुलाम बनाउन खाेजेकाे जसपा अध्यक्ष उपेन्द्र यादवको भनाइ

मिति: २०२६-०२-२० , समय : २२:२१:०८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर पुन मधेशी जनतालाई गुलाम बनाउन चाहेको बताएका छन् ।
सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उहाँले डाक्नेश्वरी नगरपालिका ८ स्थित पट्टीमा शुक्रवार जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधीहरुबाट सचेत रहन मधेशी जनतालाई आग्रह गर्नु भयो । मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्न षडयन्त्र भइरहेको बताउँदै अध्यक्ष यादवले भन्नु भयो ‘सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर पुन मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर गुलाम बनाउन चाहेका छन् ।’
कांग्रेस, कम्युनिष्टको चाहना विपरित मुलुकमा सङ्घीयता आएको चर्चा गर्दै उहाँले भन्नुभयो ‘कांग्रेस, कम्युनिष्टले सङ्घीयता चाहेकै थिएन, आफुलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी जो सङ्घीयता र प्रदेश खारेजको पक्षमा छ, अहिले विभिन्न आवरणमा मधेशी जनताको मत तान्नका लागि भ्रममा पारिरहेका छन् ।’ गत निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी समेत नदिएका रास्वपाको भुुलभुलैयामा नपरेर सचेत हुन उहाँले आग्रह गर्नु भयो ।
हरेक राजनीतिक परिवर्तनहरुमा सप्तरीले निर्णायक भूमिका निर्वाह गरे पनि सरकारको विभेदकारी नीतिका कारण अपेक्षाकृत विकास हुन नसकेको उहाँले टिप्पणी गर्नु भयो । गरिबी, बेरोजगारी अशिक्षा, बाटोघाटो, गुणस्तरीय शिक्षा, स्वस्थ खानेपानी अभाव अझैं पनि कायमै रहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले ‘अहिलेसम्मको अवस्था हेर्दा सही जनप्रतिनिधि चुन्ने बेला नै गल्ती गर्ने गरेको पाइएको छ, न विकास गर्ने, नअधिकारका लागि बोल्ने प्रतिनिधि नचुनिएका कारणले पनि सप्तरी अगाडि बढ्न नसकेको , अर्कोतर्फ विकासको लहर ल्याउने नेतालाई पनि विगतमा पाखा लगाउने काम भएको छ ।’
प्रतिनिधि चयन गर्ने समयमा नचुक्न आग्रह गर्दै जसपा नेपालका अध्यक्ष यादवले आफु सप्तरी २ बाट चुनाव जित्दा विराटनगरभन्दा पनि ठूलो सुविधासम्पन्न हस्पिटल भवन, कृषि विश्वविद्यालय इन्जिनियरि¨ कलेज, नर्सि¨ कजेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक, विद्यालय भवन लगायतका कामहरु अगाडि बढाएको बताउनु भयो । हावाको पछि नलाग्न आग्रह गर्दै विगतको कामको समेत मूल्याङ्कन गरेर मतदान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । आगामी निर्वाचन संविधान संशोधन गरेर सङ्घीयतालाई अधिकारसम्पन्न बनाउनुका साथै मधेशी लगायत उपेक्षित उत्पीडित जनताको भविष्य लेखिने भएकोले गम्भीर हुन उहाँले आममतदातासँग आग्रह गर्नु भयो ।
त्यसैगरी प्रवाहा, धामी टोल, भीमपुर, बिसहरिया लगायतका स्थानहरुमा आयोजित सभाहरुमा अध्यक्ष यादवले सम्बोधन गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०२६-०२-२० , समय : २२:२१:०८ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित