निर्वाचन विशेष : नेकपा उम्मेदवार सुर्यनाथ यादवद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

मिति: २०२६-०२-२८ , समय : १७:३१:०२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्यनाथ प्रसाद यादव (सुभाष) ले शनिबार पत्रकार सम्मेलनमार्फत आफ्ना २३ बुदै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

सप्तरीको सदरमुकाम राजबिराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उहाँले समृद्ध, समावेशी र दिगो विकासलाई मुख्य एजेन्डा बनाउँदै विभिन्न क्षेत्रगत योजना प्रस्तुत गर्नु भयो ।

यादवले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार तथा सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण र सेवा सुधार गर्ने योजना उहाँले अघि सार्नु भयो । उहाँले औद्योगिक क्षेत्रलाई व्यवस्थित र सञ्चालनमुखी बनाइ स्थानीय युवाका लागि रोजगारी सिर्जना गरिने बताउनु भयो ।

शिक्षा क्षेत्रमा सामुदायिक तथा निजी विद्यालयको गुणस्तर अभिवृद्धि, आवश्यक स्थानमा नयाँ विद्यालय स्थापना र सीपमूलक तालिम मार्फत युवालाई रोजगारीसँग जोड्ने योजना पनि उहाँले सार्वजनिक गर्नु भयो ।

कृषि क्षेत्रको आधुनिकीकरण, मल–बीउको सहज आपूर्ति, कृषि विद्युतीकरण सुधार तथा बहुउद्देश्यीय कृषि व्यवसाय प्रवद्र्धनलाई आर्थिक समृद्धिको आधारका रूपमा उहाँले उल्लेख गर्नु भयो ।

त्यसैगरी महिला, बालबालिका, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक–सांस्कृतिक सद्भाव र एकता सुदृढ गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

ग्रामीण सडक, पुल, यातायात सञ्जाल विस्तार र खानेपानी व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिने उहाँले जानकारी दिनु भयो ।
उम्मेदवार यादवले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वका लागि आफूलाई समर्थन गर्न मतदातासँग आग्रह गरेका छन् ।

यस क्षेत्रमा दल र स्वतन्त्र गरी ३४ उम्मेदवार प्रतिस्र्धामा छन् ।जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत जनता समाजवादी पार्टीबाट उमेशकुमार यादव,राष्ट्रिय स्वाभीमानी पार्टीका सतिशकुमार सिंह, रास्वपाबाट रामजी यादव, एमालेबाट मोहम्मद सफिद रहमान, राप्रपाबाट अजयकुमार दास, नेमकिपाबाट निलमकुमारी यादव, सार्वभौम नागरिकबाट दिपककुमार मण्डल र आजपाबाट सुनिलराज दास प्रतिस्पर्धामा छन्।
यहाँ स्वतन्त्रबाट जितेन्द्रकुमार यादव, पारशमणि यादव, सञ्जयकुमार चौधरी, अभिनाषकुमार सिंह, प्रेमकुमार यादव, विशेश्वर यादव र सुशीलाकुमारी साहले उम्मेदवारी दिएका छन्।
यस निर्वाचन क्षेत्रमा राजविराज नगरपालिका, तिलाठी कोइलाडी, महादेवा र छिन्नमस्ता गाउँपालिकाका ३७ वटा वडा छन्। यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कूल १ लाख ५ हजार ९२२ जना मतदाता छन्।

प्रकाशित मिति: २०२६-०२-२८ , समय : १७:३१:०२ , 2 months अगाडि