निर्वाचन विशेष : सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार मण्डलद्वारा काङ्ग्रेस उम्मेदवार यादवलाई समर्थन
मिति: २०२६-०२-२८ , समय : १७:३८:३९ , गामघर डेस्क
मिति: २०२६-०२-२८ , समय : १७:३८:३९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिएका गजेन्द्र मण्डलले काङ्ग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई समर्थन गरेका छन् ।
मण्डलले काङ्ग्रेसका उम्मेदवार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् । मण्डलले यादवलाई समर्थन गर्दै उहाँका लागि मत माग्ने राष्ट्रिय मुक्ति पार्टी र काङ्ग्रेसबीच शनिवार सहमति भएको छ । नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरि यो सहमतिको विषयमा जानकारी गराइएको छ ।

सहमति पत्रमा नेपाली काङ्ग्रेस सप्तरीका सचिब सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन् ।
दुवै दलका जिल्ला नेतृत्वले संयुक्त रूपमा जारी गरेको सहमति पत्रमा उपनिर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सहमति पत्रमा पछिल्ला दिनहरूमा देखिएका आरोप–प्रत्यारोप र आक्रामक प्रचार शैलीप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले सामाजिक सद्भाव तथा लोकतान्त्रिक मूल्य–मान्यतामा नकारात्मक असर पार्न सक्ने उल्लेख गरिएको छ ।
विशेषगरी सप्तरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी माहोल अस्वस्थ बन्दै जाने संकेत देखिएकाले जिम्मेवार राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।
दुवै दलले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्ने, उच्छृंखल तथा असंवैधानिक गतिविधिको विरोध गर्ने र मतदातामाझ सकारात्मक तथा विकासमुखी एजेन्डा प्रस्तुत गर्ने निर्णय गरेका छन्।

साथै, निर्वाचनपछि पनि क्षेत्रको दीर्घकालीन विकास, सामाजिक एकता र सुशासन प्रवद्र्धनका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।
सहमति पत्रमा हस्ताक्षर गर्ने नेताहरूले लोकतन्त्र सुदृढीकरण र मतदाताको विश्वास कायम राख्न राजनीतिक दलहरूले संयम, जिम्मेवारी र पारदर्शिता अपनाउनुपर्ने बताएका छन् । उहाँहरूले जनतालाई भ्रम र उत्तेजनाबाट टाढा रही विवेकपूर्ण मतदान गर्न आग्रहसमेत गरेका छन् ।
उपनिर्वाचन नजिकिँदै जाँदा सप्तरी–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने दलहरूबीच सहकार्य र प्रतिस्पर्धा दुवै समानान्तर रूपमा अघि बढिरहेका छन् ।
यो सङै क्षेत्र नम्बर ३ मा काङ्ग्रेसका उम्मेदवार दिनेश कुमार यादव बलियो बन्दै गएका छन् । शुक्रवार रुपनी गाउँपालिकाका पुर्व वडा अध्यक्षसहित जसपा नेपालका दर्जनौं युवा काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: २०२६-०२-२८ , समय : १७:३८:३९ , 1 day अगाडि