सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विशेष नगरसभा

कोशी तटबन्ध क्षेत्रअन्तर्गत भारत सरकारको स्वामित्वमा रहेको भवनमा सञ्चालन भइरहेको कार्यालय निरन्तर वर्षाका कारण प्रभावित भएको निष्कर्ष निकालिएको छ ।

मिति: २०२६-०४-११ , समय : ०८:२९:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विशेष नगरसभा शुक्रबार सम्पन्न भएको छ । सभाले महत्वपूर्ण निर्णय गर्दै हाल सञ्चालनमा रहेको नगर कार्यपालिकाको कार्यालयलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
नगरसभामा प्रस्तुत प्रस्तावमाथि छलफल गर्दै कोशी तटबन्ध क्षेत्रअन्तर्गत भारत सरकारको स्वामित्वमा रहेको भवनमा सञ्चालन भइरहेको कार्यालय निरन्तर वर्षाका कारण प्रभावित भएको निष्कर्ष निकालिएको छ । वर्षाका कारण भवनमा पानी प्रवेश भई महत्वपूर्ण कागजात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने जोखिम बढेको र दैनिक सेवा प्रवाहमा समेत अवरोध सिर्जना भएको उल्लेख गरिएको छ । साथै कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहेको नगर प्रमुख बिरेन्द्र माझीले बताउनु भयो ।
उहाँले नगरसभाले वडा नं. ५ र ७ को सिमामा हालै निर्माण सम्पन्न भएको पशु भेटेरिनरी अस्पतालको नयाँ भवनमा नगर कार्यपालिकाको कार्यालय अस्थायी रूपमा सार्ने निर्णय गरेको बताउनु भयो । उक्त भवन नेपाल सरकारको जग्गामा निर्माण भएको र आवश्यक कोठा तथा संरचना व्यवस्थित रहेको हुँदा सेवा प्रवाहलाई निरन्तरता दिन सहज हुने विश्वास लिइएको नगर प्रमुख माझीले बताउनु भयो ।
नगरपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण तथा व्यवस्थापन नभएसम्मका लागि सोही भवनबाट सम्पूर्ण कामकाज सञ्चालन गर्ने निर्णय नगरसभाबाट अनुमोदन गरिएको नगर प्रमुख माझीले जानकारी दिनु भयो ।
उहाँले यस निर्णयले सेवा प्रवाहलाई प्रभावकारी बनाउने र नागरिकलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा व्यक्त गरेको बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०४-११ , समय : ०८:२९:४९ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित