कोशी प्रदेश : विराटनगरमा एक युवकको हत्या, २ जना गम्भीर घाइते
मिति: २०२४-०७-०९ , समय : ११:०२:०६ , गामघर डेस्क
मिति: २०२४-०७-०९ , समय : ११:०२:०६ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ ।
मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए । ‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ,’ उनले भने,‘ घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ ।’
घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान गरिरहेको बताए । ‘दिउँसो उनीहरुको कतै झगडा भएको रहेछ, त्यसको रिसमा घटना भएजस्तो देखिन्छ,’ उनले भने, ‘आफैंआफैं झगडा गरेको पनि हुनसक्छ, आज दिनभरीमा सबै पत्ता लग्छ ।’
यता प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ ।अनलाइनखबरबाट
प्रकाशित मिति: २०२४-०७-०९ , समय : ११:०२:०६ , 12 months अगाडि