मधेश प्रदेशका बाढी पीडित घर फर्कन सकेनन : वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो
मिति: २०२५-१०-०६ , समय : १३:३६:३९ , गामघर डेस्क
मिति: २०२५-१०-०६ , समय : १३:३६:३९ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाण्डौ । हिजो र अस्तिको वर्षा र डुबानले विस्थापित भएका मधेशका बाढी पीडित घर फर्किन सकेका छैनन् । रौतहटको बागमती र लालबकैया नदीको जलस्तर घटे पनि विस्थापित परिवारहरु घर फर्किने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बाढी र डुबान प्रभावित क्षेत्रमा अझै हिलो र पानी जमेका कारण विस्थापितहरुलाई घर फर्किन समस्या रहेको प्रहरीको भनाइ छ । उनीहरु मन्दिर, बिद्यालय, छरछिमेक र आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । मधेश प्रदेशका आठ वटा जिल्लामध्ये रौतहटमा सबैभन्दा बढी तीन हजारभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकका अनुसार रौतहटमा तीन हजार दुई सय ४०, महोत्तरीमा सात सय १५, सिराहामा ५७, पर्सामा १८, धनुषामा १७, सप्तरीमा ७ र बारामा ६ परिवार विस्थापित भएका छन् ।
हिजो र अस्तिको वर्षाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरैजसो बस्ती डुबानमा परेका छन् ।

यता अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ । सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार चार लाख ३५ हजार तीन सय ५ क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ ।
गएराति पानीको बहाव पाँच लाख ३३ हजार पाँच सय ४० क्युसेक प्रति सेकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उहाँले बताउनुभयो । अहिले कोशी ब्यारेजको ५६ वटा ढोका खोलिएको उहाँले बताउनुभयो ।

हिजो विहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो ।
प्रकाशित मिति: २०२५-१०-०६ , समय : १३:३६:३९ , 2 months अगाडि