सिरहाको लहानमा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक गोष्ठी

मिति: २०२५-१२-१९ , समय : ०५:५६:०६ , गामघर डेस्क

गामघर डेस्क

लहान ।
सिरहाको लहानमा बिहीवार सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठी आयोजना गरिएको छ । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा गोष्ठी आयोजना गरेको हो ।
काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेशकुमार यादवको अध्यक्षता तथा मधेस प्रदेशसभा सदस्य जिबछी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
गोष्ठीमा सप्तरी र सिरहाको सञ्चारमाध्यमको अवस्था र चुनौती तथा समस्याको विषयमा व्यापक छलफल गरिएको थियो । गोष्ठीमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सिरहा अध्यक्ष मनोज कुमार वरमैताले जिल्लाको पत्रकारिता र पत्रकारको अबस्था बारे जानकारी दिदै संचारमाध्यम र पत्रकारप्रति स्थानीय सरकारको भुमिका अनुदार रहेको टिप्पणी गर्नु भयो । स्थानीय सरकारले विज्ञापनमा भेदभाव गर्दा जिल्लाको पत्रकारिता संकटमा परेको सहभागीहरुले गुनासो गर्नु भयो ।
स्थानीय सरकारले कमिसन लिएर काठमाडौसम्मका नामै नसुनेका संचारमाध्यमलाई विज्ञापन बेच्ने गरेको भन्नुहुदै उहाँहरूले यसको मार स्थानीय संचार माध्यम र पत्रकारले खेप्नुपरेको बताउनु भयो । उहाँहरुले युट्यूवर जस्ता नयाँ मिडियाको उछृखल गतिविधिले समग्र पत्रकार र पत्रकारिता क्षेत्र नै बदनाम हुनुका साथै चुनौती थपिएकोले यस्ता क्रियाकलापलाई नियमन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य यादव, आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्ष अम्विका दाहाल, प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, मिडिया काउन्सिलका सदस्य मनु पासवान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सप्तरी र सिरहाका नेपाल पत्रकार महासंघका पदाधिकारी, विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

प्रकाशित मिति: २०२५-१२-१९ , समय : ०५:५६:०६ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित