सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु : छानबिन समिति गठन
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
मिति: २०२६-०१-०१ , समय : १७:००:४४ , गामघर डेस्क
मिति: २०२६-०१-०१ , समय : १७:००:४४ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताए । ‘स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार भएको हो । अहिले अवस्था सामान्य बन्दै गएको छ’ डीआईजी घिमिरेले भने ।

बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई दुई राउण्ड गोली लागेको छ ।
साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । आक्रोशित समूहले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोडसमेत गरेको छ । 
यता सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय बासिन्दाको ज्यान गएको घटनाको सत्य/तथ्य पत्ता लगाउन समिति गठन भएको छ ।
पीडितहरूसँगको सहमतिपछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति भएको हो ।
गएराति सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको ज्यान गएको थियो । भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाएको हो ।
सशस्त्र प्रहरीले अवैध रूपमा सामान आयात गर्नेसँग भिडन्त भएको दाबी गरेको छ तर स्थानीय बासिन्दाले शाेथपुछका क्रममा गोली हानेको दाबी गरेका छन् । मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।
प्रकाशित मिति: २०२६-०१-०१ , समय : १७:००:४४ , 2 weeks अगाडि