सप्तरीकाे चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको फाल्गुन २१ गते निर्वाचनका लागि कार्यालय स्थापना
मिति: २०२६-०१-१६ , समय : २०:३२:५४ , गामघर डेस्क
मिति: २०२६-०१-१६ , समय : २०:३२:५४ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभाको फाल्गुन २१ गते निर्वाचनका लागि निर्वाचन आयोगको कार्यालयले स्थापना गरेको हो ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागी सप्तरी सदरमुकाम राजविराजमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतमा सप्तरी जिल्ला अदालतका न्यायधिश किशोर घिमिरे रहनु भएका छन् ।
शुक्रबार नै सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिका, निर्वाचन क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका र निर्वाचन क्षेत्र नम्बर ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनु भयो ।

क्षेत्र नम्बर १,मा जानकी रमण यादव, ३ मा सीताराम अर्याल र ४ मा विष्णु प्रसाद आचार्य निर्वाचन अधिकृत रहनु भएको उहाँले जानकारी दिनु भयो ।
सदरमुकाम राजविराजमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत कार्यालयको राजविराज नगरपालिकाका नगरप्रमुख इसरत परवीनले उद्घाटन गर्नुहुदै निर्वाचन मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्वाचन कार्यालय स्थापना संगै निर्वाचन आयोगले तयार पारेको कार्यातालिका अनुसार गतिविधि अगाडी बढ्ने बताउनु भयो । उहाँले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न नागरिक समाज, सुरक्षा निकाय, सञ्चारकमीै लगायत सबै सरोकारबाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
निर्वाचन कार्यालय उद्घाट्न समारोहमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल,, बरख गणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक कुलचन्द्र नेपाल, प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
आयोगको घोषित निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, ७ गते उम्मेदवारको विरुद्धमा उजुरी, ८ गते उजुरी उपर छानविन र उम्मेदवारको नामाबली प्रकाशन तथा माघ ९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामाबली प्रकाशन तथा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०१-१६ , समय : २०:३२:५४ , 4 hours अगाडि