सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघनका सामग्री हटाउने सहमति

मिति: २०२६-०१-२७ , समय : २२:१८:१३ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघन गरी टाँगिएका तोरण, झण्डा, पोस्टरलगायतका सामग्री २४ घण्टाभित्र हटाउने सहमति भएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति, उम्मेदवार, दलका प्रतिनिधि र सरोकारवालाहरूबीच मंगलबार सो सहमति भएको हो ।
सहमतिअनुसार सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल वा सार्वजनिक स्थलहरूमा टाँगेका÷टाँसेका÷लगाइएका दलका तोरण, झण्डा, चिह्न वा पोस्टर सम्बन्धित उम्मेदवार वा दलले नै हटाउनेछन् । बैठक सकिएको २४ घण्टाभित्र उक्त सामग्री हटाउने उम्मेदवार र दलका प्रतिनिधिले प्रतिबद्धता जनाउनु भएका छन्।
समय सीमा भित्र नहटाएमा निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार हुने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले बताउनु भयो । उहाँले उम्मेदवार तथा दलका प्रतिनिधिहरूले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने प्रतिबद्धता गर्नुभएको बताउनु भयो । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सप्तरीमा केही उम्मेदवार तथा दलका नेता÷कार्यकर्ताले आचारसंहिता उल्लंघन गरेको पाइएपछि आचारसंहिता अनुगमन समितिले बैठकबाट सामग्री हटाउने निर्णय गरेको जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३७ दिन मात्र बाँकी रहँदा पनि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता उल्लंघनका धटना भइरहेको छन ।

प्रकाशित मिति: २०२६-०१-२७ , समय : २२:१८:१३ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित