निर्वाचन विशेष : सप्तरीका रास्वपा उम्मेदवार चौधरीले डेढ करोडको चेक बाउन्स प्रकरण
मिति: २०२६-०३-०३ , समय : २२:५८:२९ , गामघर डेस्क
मिति: २०२६-०३-०३ , समय : २२:५८:२९ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
राजविराज ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीसँग जोडिएका आर्थिक र कानुनी विवादहरू सार्वजनिक हुन थालेका छन्। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीसँग सम्बन्धित डेढ करोडको चेक बाउन्स आर्थिक विवाद बाहिर आएको हो ।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चौधरीले रकम नभएको बैंक खाताबाट डेढ करोड रुपैयाँ बराबरको चेक दिएको आरोप सार्वजनिक भएको हो। आफू आर्थिक रूपमा ठगिएको दाबी गर्दै पीडित उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले चेक र बैंकबाट फिर्ता भएको ‘चेक रिटर्न स्लिप’ सार्वजनिक गरेका छन्।
अग्रवालका अनुसार हिसाब मिलाउने नाममा चौधरीले फेब्रुअरी १३ मा एक करोड ५० लाख रुपैयाँको चेक दिएका थिए। तर उक्त चेक बैंकमा पेश गर्दा खातामा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको र बैंकले फिर्ता गरिदिएको उहाँले बताएका छन्।
अग्रवालले सार्वजनिक गरेको विवरणअनुसार उहाँलाई दिइएको २४०८५९५९ नम्बरको चेक बैंकले भुक्तानी असम्भव भएको भन्दै फिर्ता पठाएको हो। यस घटनाले चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारको आर्थिक पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। 
निर्वाचनको संघारमा यस्तो प्रकरण सार्वजनिक भएपछि यसले राजनीतिक रूपमा पनि तरंग पैदा गरेको देखिन्छ। चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूसँग जोडिएका यस्ता आर्थिक विवादहरू सार्वजनिक हुनु केवल व्यक्तिगत आरोप–प्रत्यारोपको विषय मात्र नभई समग्र चुनावी प्रणालीको विश्वसनीयतासँग पनि जोडिएको मानिन्छ।
राजनीतिक दलहरूले टिकट वितरण गर्दा उम्मेदवारको पृष्ठभूमि, आर्थिक आचरण र कानुनी अवस्थाबारे कति गम्भीर समीक्षा गरे भन्ने प्रश्न पनि यसले उठाएको छ। यदि यस्ता आरोपहरू प्रमाणित हुँदै गए भने त्यसले मतदाताको धारणा र चुनावी परिणाममा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २०२६-०३-०३ , समय : २२:५८:२९ , 4 hours अगाडि