तरकारी खेतीबाट आत्मनिर्भर बन्दै सप्तरीको लोखरमका महिलाहरु
मिति: २०२६-०५-२५ , समय : २१:४४:११ , गामघर डेस्क
मिति: २०२६-०५-२५ , समय : २१:४४:११ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / छिन्नमस्ता
गामघर डेस्क
छिन्नमस्ता ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.५ लोखरमका महिलाहरू व्यावसायिक तरकारी खेतीमार्फत आर्थिक रूपमा सशक्त बन्दै गएका छन् ।
कृषि पेशामा सामूहिक रूपमा आबद्ध भएर खेती गर्दै आएका स्थानीय महिलाहरूले वार्षिक रूपमा लाखौँ रुपैयाँ आम्दानी गर्न थालेपछि गाउँमै आत्मनिर्भरता बढ्दै गएको हो ।
लोखरमस्थित “माँ लक्ष्मी कृषक समूह” मा आबद्ध जसो देवी महतोले व्यावसायिक तरकारी खेतीबाट यस आर्थिक वर्षमा मात्रै १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताइन् ।
उनले समूहमा आबद्ध भएपछि आधुनिक तरिकाले खेती गर्न सिकेको र त्यसले उत्पादन तथा आम्दानी दुवै बढाएको सुनाइन् ।
उनका अनुसार सप्रोस नेपाल को सहयोग तथा प्राविधिक सहकार्यपछि महिलाहरूले मौसमी तथा बेमौसमी तरकारी खेतीलाई व्यवसायिक रूपमा अघि बढाएका छन् ।
अहिले गाउँका अधिकांश महिलाहरू खेतबारीमा विभिन्न प्रकारका तरकारी उत्पादन गरी स्थानीय बजारसम्म बिक्री वितरण गर्दै आएका छन् ।
स्थानीय कृषक सुनिता मण्डलले महिलाहरूले उत्पादन गरेको तरकारी बजारमा राम्रो माग रहेको बताइन् ।
उनले भनिन्, “पहिले घरायसी काममै सीमित महिलाहरू अहिले कृषि पेशामार्फत आत्मनिर्भर बन्न थालेका छन् । खेतबारीमै उत्पादन गरिएको तरकारी बिक्री गरेर घरखर्च चलाउनुका साथै बालबालिकाको पठनपाठनमा समेत सहयोग पुगेको छ ।”
उनका अनुसार सामूहिक रूपमा खेती गर्दा उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति उत्साह पनि बढेको छ ।
समूहमा आबद्ध महिलाहरूले एकअर्कासँग अनुभव साटासाट गर्दै आधुनिक कृषि प्रणाली अपनाउन थालेपछि आम्दानीमा उल्लेखनीय सुधार आएको छ ।
गाउँमै रोजगारी तथा आम्दानीको स्रोत सिर्जना भएपछि वैदेशिक रोजगारी वा अन्य कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता समेत कम हुँदै गएको स्थानीयहरूको भनाइ छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय अन्य महिलाहरू पनि कृषि पेशातर्फ आकर्षित हुँदै समूहमा आबद्ध हुन थालेका छन् ।
सप्रोस नेपालको सहयोगमा सञ्चालन हुँदै आएको महिला केन्द्रित कृषि कार्यक्रमले ग्रामीण महिलाको आर्थिक अवस्था सुधार गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरूले बताएका छन् ।
प्रकाशित मिति: २०२६-०५-२५ , समय : २१:४४:११ , 3 hours अगाडि