क्रसर माफियाको संरक्षणमा सरकारी संयन्त्र : कमला नदीको दोहनमा जिम्मेवार पक्ष नै गुमनाम
मिति: २०२५-०४-२९ , समय : ११:००:०१ , गामघर डेस्क
मिति: २०२५-०४-२९ , समय : ११:००:०१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । सिन्धुलीको सिन्धुलीगढीमा उद्गम स्थल भएर सिन्धुली, उदयपुर, सिराहा र धनुषा भएर भारततर्फ बहने कमला नदीको पटक–पटक योजनाबद्ध दोहन बढेको छ । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।
नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन्।कमलापुलदेखि करिब तीन किलोमिटर क्षेत्रसम्मको बगरमा करिब २ सयदेखि ३ सयको संख्यामा ट्याक्टरहरु देखिन्छन् । कमला नदीको बगरबाट उत्खनन गरिएका नदीजन्य पदार्थहरु पश्चिमी किनारका दुई ठाउँमा जम्मा गर्ने र स्थानीय क्रसर उद्योगहरुमा लग्ने गरेको देखिन्छ ।
यसरी कमला नदीबाट उत्खनन गर्ने ठेक्का कमलेश्वरी निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. काठमाडौंले ठेक्का पाएको छ । । त्यसको ठेकेदार हुन् गणेशमान चारनाथ नगरपालिका ८ का ३९ वर्षीय नागेन्द्र प्रसैला यादव हुन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका र कर्जन्हा नगरपालिकाको संयुक्त स्वामित्वमा पर्ने कमला नदीमा गणेशमानको वडा नम्बर ८ र कर्जन्हाको वडा नम्बर ३ क्षेत्रमा २८ हजार घनमिटर उत्खननका लागि मूल्य अभिवृद्धि करबाहेक १ करोड ५१ लाखमा कमलेश्वरी निर्माण सेवा एण्ड सप्लायर्सले ठेक्का पाएको हो। गणेशमान चारनाथ नगरपालिका र कर्जन्हा नगरपालिकाको १३ चैत २०८१ को नगरस्तरीय बैठकबाट प्रसैलाले २०८१ चैत १४ देखि २०८२ जेठ मसान्त सम्मका लागि बोलपत्र मार्फत ठेक्का पाएका हुन् । जसको १३ चैतमा दुबै नगरपालिकाले संयुक्त रुपमा ठेकेदार कम्पनी कमलेश्वरी निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. का प्रतिनिधि ठेकेदार प्रसैलासँग ३२ बुँदे सम्झौता गरेको छ । तर नदीमा उत्खननको क्रममा सम्झौताको बुँदाहरुको पालना भएको देखिँदैन । बिहान देखि साँझ सम्म मात्र उत्खनन गर्न पाउने सम्झौतामा उल्लेख छ । तर बिहानदेखि अबेर रातिसम्म उत्खनन गर्ने गरेको स्थानीय बताउछन् । सम्झौता अनुसार वातावरणमा असर नपर्ने गरी बगर क्षेत्रमा तोकिएको ठाउँमा मात्र उत्खनन गर्ने उल्लेख छ । तर ठेकेदारले पानी बगिरहेको ठाउँबाट समेत उत्खनन गरेको पाइएको छ । यसबाट नदीले धार परिवर्तन गरी क्षति पुर्याउन सक्ने जोखिम पनि बढाएको छ । दैनिक ३ सय घनमिटर मात्र तोकिएको ठाउँबाट उत्खनन गर्न पाउने आईईई रिपोर्टमा उल्लेख छ । तर ठेकेदारले सम्झौता भन्दा कयौं गुणा बढी परिमाणमा जथाभावी उत्खनन गर्ने गरेका छन्।
एउटा ट्याक्टरको ट्रलीमा एकपटकमा अढाई घनमिटर लोड हुन्छ । दैनिक २५ ट्रलीको दरले नदी दोहन गर्दा ६२.२ घनमिटर हुन्छ । यसरी दैनिक न्यूनतम २ सय ट्याक्टरको हिसाब जोड्ने हो भने १२ हजार ५ सय घनमिटर उत्खनन भइरहेको सोझो हिसाब निस्किन्छ ।तर ठेकेदार नागेन्द्र प्रसैलाले २५÷३० वटा ट्याक्टर मात्र प्रयोग गरेर दैनिक ६ सय घनमिटर उत्खनन गरेको दावी गरे । ‘दैनिक २५÷३० वटा ट्याक्टर मात्र प्रयोग गरेको छु । दैनिक ६ सय मिटर जति मात्र उत्खनन गरेर स्टक गर्छु’ ठेकेदार प्रसैलाले भने । कमला नदी किनारमै कमलेश्वरी माई क्रसर सञ्चालन गरेका उनले खोलामा बाढी आउँदा उत्खनन बन्द हुने भएकाले कहिलेकाहीँ अलि बढी खन्ने गरेको तर्क गरे ।गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवले भने ठेक्का सम्झौता अनुसार नै ठेकेदारले उत्खनन र स्टक गरेको दावी गर्छन् ।
तर स्थानीय भने स्थानीय सरकार र प्रहरी प्रशासनले मोटो कमिसनको सेटिङमा सम्झौता विपरीत उत्खनन गराइरहेको दावी गर्छन् । ‘दैनिक तीन सय घनमिटर मात्र खन्ने सम्झौता छ । तर पाँच सय सम्म ट्याक्टर लगाएर बिहानदेखि रातिसम्म कमला नदी दोहन गर्ने गरेका छन् । दुबै पालिका, प्रहरी प्रशासन सबैको मिलेमतो छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी चोरीनिकासी भइरहेको सूचनाका आधारमा गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा अनुगमन गरेका थिए। नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेसको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको भन्दै प्रदेश सरकारका तर्फबाट त्यसविरुद्ध अनुगमन छापा गरिएको उनले बताए । सुरक्षाकर्मीसहित मुख्यमन्त्री सिंह खोलामा पुगेपछि नदी दोहन गर्नेहरुको भागाभाग भयो । उनले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट अनाधिकृत ढङ्गले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरेको बताए । नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको छ । साथै सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको छ । नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन्। स्थानीय दोरिक पासवान भन्छन्, ‘प्रहरी, प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा ढुंगा, गिटी, बालुवा उत्खनन तीव्र बनेको छ। मान्छेले निश्चिम परिणाममा गिटी बालुवा निकाल्नुपर्नेमा नदीको बीचभागमा डोजर पु¥याएर दिनरात अनियन्त्रित दोहन भइरहेको छ।’ सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव हुने उनले बताए। एक्साभेटर लगाएर नदी खन्न थालिएपछि किनाराका किनाराका बस्ती र जलचरसमेत संकटमा परेका छन्।
स्थानीय भागवत महतोका अनुसार अध्ययन गरेझैं गरेर क्रसर व्यवसायीको धन्दा चलाउन नदीमा डोजर चलाइएको हो। यो जनतामारा काम मेयरकै संरक्षणमा भइरहेको उनको आरोप छ।कर्जन्हा नगरपालिका २ मा पर्ने कमला खण्डको पूर्वी किनारमा पनि एक्साभेटरमार्फत दिनरात दोहन भइरहेको छ।
प्रकाशित मिति: २०२५-०४-२९ , समय : ११:००:०१ , 4 hours अगाडि