पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् प्लेन चढेको पौने ५ करोड : ओम्नीले ल्याएको औषधीको भुक्तानीसमेत वायुसेवा निगमले पाएन

मिति: २०२५-०४-२९ , समय : १७:०४:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । नेपाल वायुसेवा निगमले २० वर्ष अगाडि देखिको भुक्तानी अझै नपाएको तथ्य सार्वजनिक गरेको छ ।सन् २००५ को नोभेम्बर १० देखि डिसेम्बर २ सम्म तत्कालीन राजा ज्ञानेन्द्र शाहले अफ्रिका भ्रमण गर्दाको ४ करोड ८७ लाख ५६ हजार ९८२ रुपैयाँ अझै तिरेका छैनन् ।शाहले तत्कालीन राष्ट्र प्रमुखका हैसियतले गरेको भ्रमणको आंशिक भुक्तानी अझै नपाएको ‘वायुसेवा निगमको वर्तमान अवस्थाको विश्लेषण र सुधारका उपायहरु नामक प्रतिवेदन’मा उल्लेख गरिएको छ ।

निगमले पटक पटक सरकारसँग उक्त रकम भुक्तानीको आग्रह गर्दा पनि नपाएको उल्लेख गरेको छ । निगमले २०७६ चैत १५ गते कोभिड महामारीको समयमा ओम्नी र नेपाल सरकारले भुक्तानी गर्नुपर्ने औषधी सामग्रीको भुक्तानीसमेत अझै नपाएको उल्लेख गरेको छ ।कोरोना महामारीको बेला सरकारले ओम्नीसँग मिलेर औषधी ढुवानीमा अनियमितता गरेको आरोप लागेको र सार्वजनिक लेखा समितिले भ्रष्टाचार भएको भनेर ठहर भएको उक्त सामान ढुवानीको पनि निगमले अझै १ करोड ९४ लाख २२ हजार ७७४ रुपैयाँ पाउनै बाँकी रहेको उल्लेख छ ।विश्वव्यापी कोरोना महामारीको बेला कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको थियो । तत्कालीन सरकारले ०७६ चैत ११ गते २४ घण्टे सूचना जारी गर्दै एक करोड तीन लाख ९४ हजार ४ सय अमेरिकी डलरमा औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता ओम्नीसँग गरेको थियो । उक्त सम्झौताअनुसार ओम्नीले चीनबाट २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।
सरकारले ओम्नीलाई २०७६ चैत १२ मा एक अर्ब २४ करोड रुपैयाँको औषधी खरिद गर्न गरेको सम्झौता अनुसार वायुसेवा निगमले तीन दिनपछि नै (१५ चैतमा) सरकारको आग्रह अनुसार चीनबाट सामान ढुवानी गरेको थियो । उक्त सामान ढुवानी वापत निगमले पाउनुपर्ने १ करोड ९४ लाख रुपैयाँ पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारले ओम्नीसँग गरेको औषधी खरिदमा व्यापक अनियमिता भएको आरोप लाग्ये भने तत्काले संसदको सार्वजनिक लेखा समितिले औषधी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्यो । सरकारकै सक्रियतामा आर्थिक अनियमितता हुने र औषधी खरिद हुने तर त्यहीँ औषधीको ढुवानी गर्दाको पैसा भने निगमले पाएन ।
बजार मूल्यभन्दा बढीमा पैसा तिरेर त्यतिबेला स्वास्थ्य मन्त्रालयले औषधी खरिद गरेको भन्दै विवाद उत्पन्न भयो । त्यतिबेला स्वास्थ्य मन्त्रालयको आग्रहमा पर्यटन मन्त्रालयले वायुसेवा निगमलाई औषधी ल्याउन पत्राचार गरेको थियो । सरकारको विश्वासमा दिएको उक्त सेवाको पैसा नपाएको गुनासो निगमले गरिरहेको छ ।
उक्त प्रकरणमा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकालसहित स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, ओम्नीका सञ्चालक दुर्गाप्रसाद बेलबासेविरुद्ध मुद्दासमेत अख्तियारमा दर्ता भएको छ । तर, अख्तियारमा उजुरी परे पनि कारबाही भने अगाडि बढेन ।
वायुसेवा निगमले १२ सेप्टेम्बर २०२२ मा पाकिस्तान सरकारलाई राहत सामग्री पुर्याउँदाको जहाज भाडा १ करोड १४ लाख १२ अक्टोबर २०२३ मा इजरायलबाट घाइते तथा मृत्यु भएकाको शव ल्याउँदाको भाडा वापातको ५ करोड ७८ लाख रुपैयाँ अझै नपाएको पनि उल्लेख गरेको छ । निगमले सरकारबाट कुल १३ करोड ७३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ ।

प्रकाशित मिति: २०२५-०४-२९ , समय : १७:०४:४९ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित