मधेश प्रदेशमा अहिलेसम्म ३३ प्रतिशत मात्र धान रोपाइँ : कम पानीमै फल्ने धान लगाउन विज्ञहरुको सुझाव

मिति: २०२५-०७-१३ , समय : १२:३९:१२ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

काठमाण्डौ । मधेश प्रदेशमा कम पानीमै उत्पादन दिन सक्ने धानका जात लगाउन कृषि विज्ञले सुझाव दिएका छन् । मधेशमा कम पानी परेर धान रोपाइँमा ढिलाइ भइरहेको बेला कृषि विज्ञले यस्तो सुझाव दिएका हुन् ।

सन्चारकर्मिहरुसगकाे कुराकानीमा धानबाली विज्ञ डा.उज्वल कुमार कुसवाहाले वर्षा कम हुने ठाउँमा सुक्खा जातका धान उपयुक्त हुने बताउनुभयो ।

उहाँका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि कार्यालयहरूले प्रवर्द्धन गरिरहेका सुक्खा १ देखि सुक्खा ६ जातका धानहरू तीनदेखि चार मेट्रिक टनसम्म उत्पादन दिन सक्ने क्षमता राख्छन् । त्यस्तै, ‘बहुगुनी १’ र ‘बहुगुनी २’ जातका धान पनि थोरै पानीमै राम्रो उत्पादन दिन सक्ने देखिएको छ ।

धानबाली विज्ञ कुसहवाका अनुसार पानी कम परेका ठाउँमा ‘छरुवा धानखेती’ पनि राम्रो विकल्प हो । यसमा खेतमा सीधै बीउ छरिन्छ । यस्तो विधिबाट साढे तीनदेखि चार मेट्रिक टनसम्म उत्पादन हुने अनुसन्धानले देखाएको छ । कम पानीमै फल्न सक्ने घैया प्रजातिका धान पनि विकल्प हुनसक्ने उहाँले बताउनु भयो ।

कम पानीमै उत्पादन दिन सक्ने धानका जात नार्कका क्षेत्रीय कार्यालय तथा कृषि सहकारी संस्थाहरूबाट सहजै पाउन सकिन्छ । यी वैकल्पिक धान जातहरूको उचित व्यवस्थापन गरेमा कम पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ । पानी झनै कम परेका ठाउँमा कोदो पनि उपयोगी विकल्प हुनसक्ने कृषि विज्ञको सुझाव छ ।

अन्न भन्डार मानिने मधेशमा यसवर्ष कम पानी परेपछि किसान चिन्तामा छन् । मधेश प्रदेशमा अहिलेसम्म ३३ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको कृषि मन्त्रालयले जनाएकाे छ ।


सिँचाइको अभाव र वर्षा नहुँदा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा धेरै खेत बाँझै छन् । मधेस प्रदेश सरकारले अवस्था गम्भीर बन्दै गएपछि मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । उज्यालो

प्रकाशित मिति: २०२५-०७-१३ , समय : १२:३९:१२ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित