जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारकाे अर्को काण्ड सार्वजनिक : ‘अपरेशन अस्पताल’ को नाउँमा ५ लाखको ‘डिल’मा पुनः खुले ‘अवैध’ क्लिनिक…

मधेस प्रदेशको सिरहामा १३, सर्लाहीमा ५२, सप्तरीमा ८, रौतहटमा २१, महोत्तरीमा ७, पर्सामा १, धनुषामा २२ र बारामा ९ अस्पताल बन्द भएका थिए ।

मिति: २०२५-०७-२२ , समय : १५:५२:०२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेश सरकारले केही महिनाअघि स्वास्थ्य मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पताल तथा क्लिनिकहरू बन्द गराउने भन्दै चलाएको ‘अपरेशन अस्पताल’ अभियान अहिले निष्प्रभावी बन्न पुगेको छ ।

सरकारले ताला लगाएका अधिकांश निजी स्वास्थ्य संस्थाहरू अहिले पुनः निर्बाध रूपमा सञ्चालनमा आइसकेका छन्, जसले बिचौलियाको प्रभाव र सेटिङको गम्भीर आशंका उब्जाएको छ ।

सर्लाहीको मिथिला डेन्टल क्लिनिक र देवश्री पोलिक्लिनिक प्रालि जस्ता बन्द गरिएका संस्थाहरू केही साताभित्रै खुल्नुले प्रदेश सरकारको अभियानमाथि नै प्रश्नचिन्ह खडा गरेको छ । वीरगन्जको नेपाल इन्डो हस्पिटल एन्ड आइ केयर सेन्टर प्रालि समेत मापदण्ड नपुगेको भन्दै बन्द गराइएकोमा अहिले पुरानै तरिकाले चलिरहेको छ ।

नाम नखुलाउने शर्तमा सर्लाही, मलंगवाका एक निजी अस्पतालका सञ्चालकले प्रदेश सरकारका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो रकम लिएर बन्द गरिएका अस्पतालहरू खोल्न अनुमति दिइएको गम्भीर आरोप लगाएका छन् । ‘प्रदेश सरकारले राखेका बिचौलियामार्फत सेटिङ गर्छन्, अनि बन्द अस्पतालहरू खुल्छन्,’ उनले भने, ‘एउटा अस्पतालले कम्तीमा पाँच लाख रुपैयाँ बिचौलियामार्फत बुझाएपछि मात्रै खोल्ने अनुमति दिइन्छ ।’

करिब अढाई महिनाअघि बन्द गरिएका अस्पतालहरू एकाएक कसरी मापदण्ड पूरा गरे भन्ने प्रश्न गर्दै उनले यसको पुनः जाँच गरिए वास्तविकता बाहिर आउने दाबी गरे । उनले यो सम्पूर्ण खेलमा प्रदेशको स्वास्थ्य मन्त्रालय प्रत्यक्ष जोडिएको बताए ।

मधेश सरकारले अवैध तथा मापदण्डविपरीत सञ्चालित अस्पतालहरूलाई अनुगमन गरी कारबाही गरेको भन्दै करिब सात महिना लामो ‘सर्च अप्रेसन’ अभियान चलाएको थियो । गत कात्तिक २५ देखि वैशाखसम्म चलेको यस अभियानमा १३० भन्दा बढी अस्पतालहरू मापदण्डविपरीत पाइएको भन्दै बन्द गराइएको थियो । सिरहामा १३, सर्लाहीमा ५२, सप्तरीमा ८, रौतहटमा २१, महोत्तरीमा ७, पर्सामा १, धनुषामा २२ र बारामा ९ अस्पताल बन्द भएका थिए ।

यस अभियानले तत्कालीन समयमा मुख्यमन्त्री सतिश सिंहको चौतर्फी प्रशंसा बटुलेको थियो । तर, अहिले तीमध्ये अधिकांश अस्पताल पुनः सञ्चालनमा आइसकेका छन् । प्रदेश स्वास्थ्य मन्त्री शत्रुघ्न महतो कोइरीले भने केही निजी अस्पतालले कागजी प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालनको अनुमति दिइएको दाबी गरे । तर, उनका अनुसार प्रक्रिया पूरा गर्ने बन्द भएका अस्पतालहरू प्रदेशभरि आठ वटा मात्र छन् । यद्यपि, अनुगमनमा खटिएका स्वास्थ्य मनत्रालयका अधिकारी सन्तोष ठाकुरले भने धेरैजसो स्थानीय तहको अनुमतिमा जबरजस्ती खोलिएको आरोप लगाएका छन् ।

यसबाट मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति र अनियमितताको जालो अझै कसिलो बन्दै गएको स्पष्ट हुन्छ । मधेश संचारबाट

प्रकाशित मिति: २०२५-०७-२२ , समय : १५:५२:०२ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित