श्रीलङ्का टापुलाई ठाकुरबारीबाट जाेड्न सप्तकोशीमा झोलुङ्गे पुल बन्ने
मिति: २०२३-१२-२६ , समय : १६:२३:५५ , गामघर डेस्क
मिति: २०२३-१२-२६ , समय : १६:२३:५५ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।
सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताउनुभयो । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
गुरुङका अनुसार सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तथा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पार्नुभएको हो । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाण्डौले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिनुभयो । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।
सबइन्जिनियर यादवले डीपीआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्शनको ठेक्का लाग्ने बताउनुभयो । नमुना झोलुङ्गे पुल नामकरण गरी गएको आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।
बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । यो क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलङ्का टापुमा चार हजार पाँच सय घर धुरीका १० हजार बढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताउनुभयो । उहाँले पुल बनेपछि श्रीलङ्का टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
श्रीलङ्का टापु क्षेत्र उर्बर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुङ्गे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिङ्गो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ ।’
जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् । वर्षायाममा सप्तकोशीमा पानीको बहाव बढ्ने भएकाले डुङ्गाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताउनुभयो । श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उहाँको भनाइ थियो । रासस
प्रकाशित मिति: २०२३-१२-२६ , समय : १६:२३:५५ , 1 year अगाडि