मधेस प्रदेश : नापी कार्यालयका कर्मचारी चढेको जिप दुर्घटना, ११ घाइते, चारको अवस्था गम्भीर
मिति: २०२४-०२-०६ , समय : ०७:०३:०३ , गामघर डेस्क
मिति: २०२४-०२-०६ , समय : ०७:०३:०३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीको मलंगवा नगरपालिकास्थित गमहरियामा नापी कार्यालय मलंगवाका कर्मचारी सवार स्कारपियो दुर्घटनाग्रस्त भएको छ ।
सोमबार साँझ मलंगवा नगरपालिका– ११, स्थित नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत गमहरियामा नापी कार्यालयका कर्मचारी सवार स्कारपियो दुर्घटना भएको हो ।
घटनामा स्कारपियोमा सवार नापी कार्यालय मलंगवाका प्रमुख काभ्रे उपमहानगरपालिका घर भएका ४५ वर्षका संजय मानन्धरसहित ११ जना सख्त घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा नापी कार्यालय सर्लाहीका कर्मचारीहरू सर्लाही कौडेना गाउँपालिका– २ बस्ने अन्दाजी २४ वर्षीय संजित मण्डल, मलंगवा नगरपालिका– ३ बस्ने ३५ वर्षीय रामलाल साह, महोत्तरी एकडारा गाउपालिका– २ बस्ने ३० वर्षीय रिटेन यादव, सर्लाही मलंगवा नगरपालिका– ३ बस्ने ५० वर्षीय बैधनाथ पटेल छन् ।
यस्तै मलंगवा नगरपालिका– ७ बस्ने ३४ वर्षीय रामबाबु राय, धनुषा सहिदनगर नगरपालिका– ७ बस्ने २९ वर्षीय दीपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका– २० बस्ने २४ वर्षीय सहिद अनवर, सर्लाही बागमती नगरपालिका– ५ बस्ने बिनोद घिमिरे, महोत्तरी बस्ने ३० वर्षीय बैजु यादव, महोत्तरी बस्ने २५ वर्षीय अजय यादव रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पंजियार थारूले जानकारी दिए । डिएसपी थारूका अनुसार घाइतेहरूको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ ।
नापीका कर्मचारी सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय स्कारपियो जिप साँझ मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेर सोही दिशातर्फ आउँदै गरेको ज. २त १०६७ नम्बरको ट्रयाक्टरको पछाडि ठोक्किएको थियो । दुर्घटनामा परेको जिप क्षतिग्रस्त अवस्थामा छ ।
प्रकाशित मिति: २०२४-०२-०६ , समय : ०७:०३:०३ , 1 year अगाडि