छठ पर्वको खरना बसेकी वडाअध्यक्षका यादवकी श्रीमतीकाे निधन

मिति: २०२६-११-१६ , समय : ०७:१२:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सप्तरी। छठ पर्वको खरना विधि सम्पन्न गरी निराहार व्रत बसेकी सप्तरीको राजविराजकी एक महिलाको आइतबार बिहान निधन भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा न.२ निवासी ३२ वर्षीया रिंकीरानी यादवको निधन भएको हो । उहाँ सोही वडाका अध्यक्ष अरुणकुमार यादवकी धर्मपत्नी हुनुहुन्छ । आइतबार बिहान पेटमा सामान्य दुखाइ भएपछि यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले इन्जेक्सन लगाएपछि करिब १० देखि १५ मिनेटमै उहाँको अवस्था थप गम्भीर बनेको आफन्त देवनारायण यादवले बताउनुभयो । व्रत बसेका कारण सुरुमा दुखाइ कम गर्ने औषधि खान नमानेपछि इन्जेक्सन लगाइएको उहाँले जानकारी दिनुभयो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको र त्यहाँका चिकित्सकले मृत घोषणा गरेको परिवारजनले बताएका छन् । मृतक यादवका एक छोरा र दुई छोरी छन् ।

यसैबिच, यादवको निधनप्रति राजविराज नगरपालिकाले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले वडा अध्यक्ष अरुणकुमार यादवकी धर्मपत्नी रिंकीरानी यादवको अल्पायुमै भएको असामयिक निधनले आफूहरू मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

यता शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । मृतक यादवको आजै सप्तकोशी नदीमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति: २०२६-११-१६ , समय : ०७:१२:२७ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित