चाडपर्वमा पनि रानी नाका तस्करको कब्जामा : प्रहरीकै संरक्षणमा मासिक असुलीको धन्दा

मिति: २०२६-११-०८ , समय : १९:१७:५६ , गामघर डेस्क

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशको मोरङ जिल्लाको प्रमुख व्यापारिक नाका रानी पछिल्लो समय तस्करी र कथित प्रहरी असुलीको अखडा बन्दै गएको गम्भीर आरोप सार्वजनिक भएको छ। भारतसँग जोडिएको रानी नाकाबाट विगत एक महिनादेखि ठूलो मात्रामा विभिन्न सामानको अवैध ओसारपसार भइरहेको र त्यसमा प्रहरीका केही कर्मचारीको मिलेमतो तथा संरक्षण रहेको स्थानीय व्यवसायी र स्रोतहरूको दाबी छ। सीमामा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रहरीकै केही कर्मचारीमाथि कारोबारीसँग नियमित रकम उठाउने गरेको आरोप लागेपछि प्रहरी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको छ।
रानी नाकामा सीमा प्रहरी कार्यालय रानी तथा इलाका प्रहरी कार्यालय रानी गरी नेपाल प्रहरीका दुईवटा युनिट परिचालित छन्। सीमा प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक (सई) को कमान्डमा र इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन हुँदै आएको छ। तर, दुईवटा प्रहरी युनिटको उपस्थिति हुँदाहुँदै पनि नाकाबाट खुलेआम तस्करी भइरहेको आरोपले सीमाको सुरक्षा र राजस्व संरक्षणको जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
स्थानीय स्रोतका अनुसार रानीको दक्षिण गेट हुँदै गीताको कस्मेटिक सामानको तस्करी भइरहेको छ। त्यसैगरी सीताको कपडा, निलमको माछा तथा जिलानी, चाँदनी र सुरेशसँग जोडिएका विभिन्न सामानको अवैध ओसारपसार भइरहेको आरोप छ। जितेनको कस्मेटिक सामानसमेत तस्करी हुने गरेको र उनले नेपालबाट भारततर्फ मदिरा लैजाने कारोबारसमेत सञ्चालन गरिरहेको स्रोतको दाबी छ।
रानी बजारका एक किराना व्यवसायीका अनुसार यहाँ तस्करीमा संलग्न कारोबारीबाट निश्चित दररेटमा मात्र नभई कारोबारको प्रकृति, सामानको प्रकार र परिमाणअनुसार रकम उठाउने गरिएको छ। उनका अनुसार कुन सामान कति परिमाणमा ओसारपसार गरिन्छ, त्यसैको आधारमा प्रहरीलाई मासिक रकम बुझाउनुपर्ने अवस्था रहेको छ।
यसले रानी नाकामा तस्करी नियन्त्रणका लागि खटिएको सुरक्षा संयन्त्रभित्रै कतै अवैध कारोबारलाई सहज बनाउने संरचना त विकास भएको छैन भन्ने आशंका जन्माएको छ। यदि कारोबारीले सामानको प्रकृति र परिमाणअनुसार रकम बुझाएर निर्वाध कारोबार गर्न पाउने अवस्था हो भने त्यो सामान्य लापरबाही नभई राज्यको राजस्व र कानुनी शासनमाथिकै चुनौती हो।
यस प्रकरणमा इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रविण घिमिरेको कमान्डमा परिचालित प्रहरी कर्मचारीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। स्रोतका अनुसार उनले घुमुवाका रूपमा प्रहरी जवान सुभाष यादवलाई परिचालन गरेका छन्। तर, यस प्रकरणको सबैभन्दा चासोपूर्ण पक्ष भने सहायक हवल्दार प्रकाश कटुवालको भूमिकालाई लिएर उठेको आरोप हो।कटुवाल यसअघि लामो समय रानी क्षेत्रमा घुमुवाका रूपमा कार्यरत रहँदा रकम असुलीको आरोप लागेपछि त्यहाँबाट हटाइएको बताइन्छ। हाल उनी बरगाछीस्थित प्रहरी कार्यालयमा कार्यरत रहेको देखिए पनि व्यवहारमा रानी क्षेत्रकै कारोबारीसँग सम्पर्क र समन्वय गर्दै घुमुवाको भूमिका निर्वाह गरिरहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार कटुवालले तस्कर तथा अन्य कारोबारीलाई फोन गर्ने, कारोबारको दररेट निर्धारण गर्ने र रकमसम्बन्धी समन्वय गर्ने गरेको आरोप छ। त्यसपछि प्रहरी जवान सुभाष यादवलाई परिचालन गरी कारोबार गराउने गरिएको दाबीसमेत गरिएको छ। अर्थात्, एक कर्मचारीले कथित रूपमा फोनमार्फत कारोबारको वातावरण मिलाउने र अर्काले फिल्डमा पुगेर त्यसको व्यवस्थापन गर्ने गरेको आरोप सार्वजनिक भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) ले कटुवाल र यादवले प्रयोग गर्ने फोनको विवरण तथा कल रेकर्डको कानुनी प्रक्रियाबाट परीक्षण गरिए कारोबारीसँगको सम्पर्क र कथित असुलीबारे महत्वपूर्ण तथ्य खुल्न सक्ने बताएका छन्। यद्यपि, यस्तो आरोपको पुष्टि अनुसन्धान र प्रमाणबाट हुन आवश्यक छ।तस्करीको आरोपसँगै रानी क्षेत्रका केही होटल तथा रेस्टुरेन्टबाट समेत प्रहरीका घुमुवाले नियमित रकम लिने गरेको दाबी गरिएको छ। स्रोतका अनुसार तमनी होटल तथा आगमन र फिरोज साहसँग सम्बन्धित गजल रेस्टुरेन्टबाट समेत रकम उठाउने गरिएको आरोप छ।
भारतबाट ठूलो संख्यामा मानिस मदिरा सेवन गर्न तथा गीत–संगीत र गजलको मनोरञ्जन लिन नेपाल आउने भएकाले यस्ता होटल तथा रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको छ। तर, सीमावर्ती क्षेत्रका केही होटल तथा भित्री क्षेत्रका अन्य होटलमा युवतीहरू राखेर विभिन्न अवैध गतिविधि सञ्चालन हुने गरेको र त्यसबारे जानकारी हुँदाहुँदै पनि प्रहरीले नियन्त्रणमा चासो नदिई आर्थिक लाभका आधारमा संरक्षण दिने गरेको आरोपसमेत स्थानीय स्रोतले लगाएका छन्।
यस्ता आरोपको सत्यता पत्ता लगाउन सम्बन्धित होटलहरूको गतिविधि, आर्थिक कारोबार र प्रहरी कर्मचारीसँगको सम्पर्कबारे निष्पक्ष छानबिन आवश्यक देखिन्छ।रानी नाका विराटनगरको प्रमुख व्यापारिक प्रवेशद्वार हो। यहाँबाट हुने अवैध ओसारपसारले भन्सार राजस्वमा प्रत्यक्ष असर पार्नुका साथै वैध व्यापार गर्ने व्यवसायीलाई समेत निरुत्साहित गर्छ। सीमामा दुईवटा प्रहरी युनिट परिचालित हुँदाहुँदै पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको हो भने त्यसको जिम्मेवारी सम्बन्धित कमान्डर र अनुगमन गर्ने उच्च अधिकारीले लिनुपर्छ।दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व गुमिरहेको दाबी सार्वजनिक भइरहँदा कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ र सम्बन्धित सुरक्षा निकायले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।
अब अनुसन्धान केवल सीमामा सामान बरामद गर्ने र केही भरियालाई पक्राउ गर्ने औपचारिकतामा सीमित हुनु हुँदैन। कारोबारीसँगको सम्पर्क, फोन विवरण, सम्भावित आर्थिक लेनदेन, प्रहरी कर्मचारीको कार्यक्षेत्र र जिम्मेवारी तथा भन्सार अभिलेखसमेत समेटेर छानबिन गरिनुपर्छ।तस्करले नाका चलाउने र प्रहरीले त्यसको दररेट निर्धारण गर्ने अवस्था बनेको हो भने त्यो राज्यको सुरक्षा संयन्त्रमाथिकै गम्भीर विडम्बना हो। रानी नाकामा उठेका यी आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिने जोसुकैलाई कारबाही गर्ने जिम्मेवारी प्रहरी नेतृत्वकै हो। नवजनप्रहार साप्ताहिकबाट

प्रकाशित मिति: २०२६-११-०८ , समय : १९:१७:५६ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित