एनपीएलको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर बने रिजन : पाए गाडी र बाइक
मिति: २०२६-११-२२ , समय : ०७:१४:४२ , गामघर डेस्क
मिति: २०२६-११-२२ , समय : ०७:१४:४२ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / काठमाडौं
गामघर डेस्क
काठमाडौं । चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।सर्वोत्कृष्ट खेलाडीसँगै उत्कृष्ट बलरसमेत घोषित भएका रिजनले पुरस्कारस्वरूप ओमोडाको गाडी र पल्सर बाइक प्राप्त गरेका छन्।
एनपीएलको यस संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका रिजनले ९ खेलमा १७ विकेट हात पारे। उनले एलिमिनेटरमा काठमाडौं गोर्खाज र लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध समान ४ विकेट लिएका थिए।त्यस्तै, काठमाडौं गोर्खाजविरुद्धको लिग चरणको खेलमा ३ तथा विराटनगर किंग्सविरुद्ध २ विकेट लिएका उनले कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सविरुद्धका खेलमा समान १ विकेट आफ्नो नाममा गरे।
यसअघि एनपीएलको दोस्रो संस्करणमा सन्दीप लामिछाने, अविनाश बोहरा र शेर मल्लले समान १७ विकेट लिएका थिए। पहिलो संस्करणमा पनि स्कट कुग्लेजिन र ललित राजवंशीले समान १७ विकेट हात पारेका थिए।यसैबीच, विराटनगर किंग्सका लोकेश बम उत्कृष्ट ब्याटर घोषित भएका छन्। उनले ७ खेलमा २ अर्धशतकसहित सर्वाधिक २४६ रन बनाएका थिए। उत्कृष्ट ब्याटर बनेसँगै उनले बाइक पुरस्कार प्राप्त गरे।त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव प्रतियोगिताको उदीयमान खेलाडी घोषित भएका छन्। ट्यालेन्ट हन्टबाट टोलीमा स्थान बनाएका राहुलले लिग चरणमा १२ विकेट लिएका थिए। उनले पनि पुरस्कारस्वरूप बाइक प्राप्त गरेका छन्।
प्रकाशित मिति: २०२६-११-२२ , समय : ०७:१४:४२ , 4 hours अगाडि