सप्तरीको छिन्नमस्ता गाउँपालिकामा किसानहरुको सिँचाइको विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने , किसानहरु खुशी

मिति: २०२४-०४-११ , समय : १४:०२:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

छिन्नमस्ता ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा किसानहरुको सिँचाइको विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले खेतमा सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णय गरेको छ।

४० हजार जनसंख्या रहेको साे पालिकामा झन्डै ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन्। तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए। यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो छ।

कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए। गत असार ७ गते सम्पन्न १०औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल ५० प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए।

‘यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतीप्रति किसानको आकर्षणसमेत बढ्नेछ।’ यता गाउँपालिकाले यहाँका किसानहरुका लागि सिँचाइको विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि स्थानीय किसानहरु खुशी ब्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२४-०४-११ , समय : १४:०२:१४ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित