भ्रष्टाचारकाे अखाडा : सप्तरीको बलान विहुल गाउँपालिकामा सडक ढलान र बाटो निर्माणको पैसाबाट मोवाईल खरिद
मिति: २०२४-०८-२३ , समय : १५:३६:०१ , गामघर डेस्क
मिति: २०२४-०८-२३ , समय : १५:३६:०१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरी सहित मधेस प्रदेशका स्थानीय तहहरु भ्रष्टाचारकाे अखाडा बन्दै गएको छ । साेहि क्रममा सप्तरीको बलान विहुल गाउँपालिकाले सडक ढलान, बाटो निर्माण र सिपमुलक तालिमको पैसाले जनप्रतिनिधि र कर्मचारीका लागि साढे ७ लाखको मोवाईल किनेको खुलासा भएको छ।
महालेखा परिक्षकको आव ०७९/०८० को प्रतिवेदन अनुसार गाउँपालिकाले स्विकृत कार्यक्रम संशोधन गरी मोवाईल खरिद गरेको पाईएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ। तर, २१ वैशाख ०७९ मा वसेको गाउँसभाबाट ६० वटा कार्यक्रम संशोधन गरी विभिन्न ३७ वटा कार्यक्रम स्वीकृत गरेको देखिन्छ।
संशोधित कार्यक्रम अनुसार मोबाईल खरिद (नयाँ योजना) मा ३ लाख ७५ हजार विनियोजन भएको छ। आव २०७९/८० को वार्षिक कार्यक्रम तथा वजेटबाट स्विकृत पुँजिगत प्रकृतीको फर्निचर खरिद, सडक ढलान बाटो निर्माण तथा सिपमुलक तालिम कार्यक्रमबाट रकम कट्टा गरी मोवाईल खरिदमा वजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ।
पालिकाले गाउँपालिकाको पुँजिगत बजेट उपशिर्षकअन्तर्गत यस वर्ष ७ लाख ४१ हजार १३९ मा ३० वटा मोबाईल सेट खरिद गरेको पाईएको छ। यसरी मोवाईल खरिद गर्दासमेत मोबाईलको स्पेसिफिकेशन, लागत अनुमान तयार नगरी पटक–पटक सोझै खरिद गरेर अनियमितता गरेको महालेखाको प्रतिवेदनमा औंल्याईएको छ।
यसरी पुँजिगत योजनाको रकम कट्टा गरी सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित खरिद गरिएको मोवाईको खर्च सैद्धान्तिक वेरुजु भएको प्रतिवेदनमा उल्लेख छ।शीर्ष खबरबाट
प्रकाशित मिति: २०२४-०८-२३ , समय : १५:३६:०१ , 11 months अगाडि