सशस्त्र प्रहरीको संरक्षणमा मधेस प्रदेशको विभिन्न नाकाबाट खुलेआम तस्करी : बरैनिया नाकाबाट खुल्यो तस्करीको लाइन
मिति: २०२४-१०-१८ , समय : १६:४४:१५ , गामघर डेस्क
मिति: २०२४-१०-१८ , समय : १६:४४:१५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटको सीमावर्ती क्षेत्रबाट अवैध तस्करीमा व्यापक वृद्धि हुन थालेको छ। पछिल्लो समय रौतहटको मुख्य नाका गौरसँगै अन्य सहायक नाकाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो। रौतहटका बिभिन्न नाकाबाट खुलेआम भन्सारछलीका सामान भित्र्याउने गरिएको छ । सशस्त्र प्रहरीको संरक्षणमा गौर नाकाबाट तस्करी हुँदैआएको आरोप छ ।
सशस्त्र प्रहरीकै सामुन्ने यी नाकाबाट तस्करी गरी सामान नेपालतर्फ ल्याउँदैगरेको दृश्यसहितको भिडियो नै सार्वजनिक भए पनि सशस्त्र मुख्यालयले भने अनुगमन गर्न सकेको छैन । गौर गुल्मको सेटिङमा भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ । स्थानीय किराना व्यवसायी भन्छन्–यो नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा ठूलो तस्करी भैरहेको छ । उनले भने–तस्करी दुबैतर्फबाट नै चलेको छ ।यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा मोतिम मियाँ कपडा, रूपेश हार्डवेयर, बच्चेलाल किराना, नवल कपडा र चप्पल, मुस्तफा कपडा, हार्डवयेर र चप्पल मुख्य छन् ।
सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार बैरगनियाबाट रौतहटको मुख्य नाका गौर भएर भारतीय ट्याम्पोमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ। भन्सार कार्यालयको मुख्य गेटमा खटिने प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले नै ‘लाइन’ दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टमदेखि उत्तर बीचको स्थानमा ल्याई राखिएको सामान गौर बजारसम्म सजिलै ल्याउने गरेका छन् । सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टी भन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ। केही भारतीय खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौंको तस्करी भइरहेको स्थानीयको दाबी छ। रौतहटको सदरमुकाममै रहेको भन्सार कार्यालय गाडिबाटै तस्करी हुने गरेको छ । गौर भन्सारको मुख्य नाकामा भारतीय नम्बर प्लेटको ट्याम्पोमा तस्करी हुने गरेको छ। सहायक नाकातिर भने तस्करहरुलाई सामान ओसारपसारमा केन्द्रित गराइएको छ।
सीमामा खटिएका सुरक्षाकर्मीको संलग्नतामा लक्ष्मीपुर बेलबिक्षवा, औरैया, महुलिया, बन्जरहा जस्ता खुला नाकाहरुबाट खुलेआम तस्करी भइरहेको छ।
देशमा आर्थिक मन्दी छ । राजस्व असुली लक्ष्य अनुसार हुन सकेको छैन । भन्सारबाट हुने आयातले राजस्वको मुख्य हिस्सा ओगट्ने गर्दछ । तर सीमा क्षेत्रमा भन्सार तिरेर भन्दा तस्करीबाट सामान भित्रने गरेको छ । भारतीय सीमावर्ती क्षेत्रबाट रातभर सीमा क्षेत्रमा मोटरसाइकलबाट लत्ताकपडा, चिनी नेपालमा ल्याएर गोदाममा राख्ने गरिएको छ । यता मधेस प्रदेशको बाराको बरैनिया नाकाबाट तस्करीको लाइन शुरू भएको छ । दीपावली र छड जस्ता चार्डपर्व नजिकिदै गरेको अवस्थामा यस नाकाबाट काजुको तस्करी व्यापक मात्रामा भैरहेको छ ।
भारतीय नम्बर प्लेटको २०५१ नम्बर सहितको ५ वटा मोटरसाइकल र स्कुटर मार्फत दैनिक ५ देखि ६ क्वीन्टल काजु तस्करी गरि भारतबाट नेपाल भित्रिने गरेको छ । तस्करीको लाइन मुकेश समेतको ५ जनाको समुह ले पाएको छ।
सशस्त्र प्रहरी बल बरैनियामा निरीक्षक लक्ष्मण जोशी प्रमुख छन् । उनी यसअघि पनि बिओपी मटिर्अर्वामा प्रमुखको रूपमा कार्यरत थिए । यसकारणले पनि उनले बाराका धेरै तस्कर देखि व्यापारी सम्मलाई नचिन्ने कुरा नै भएन । साथै उनी बिहान ९÷१० बजे सम्म आराम गरिरहने , अनि राति अबेरसम्म हिडिरहने भएको कारण पनि सुतेको समयमा डियुटीमा खटिएकाले तस्करी गराएको स्थानीय व्यवसायी बताउँछन् । जनप्रहारबाट
प्रकाशित मिति: २०२४-१०-१८ , समय : १६:४४:१५ , 8 months अगाडि