चाडपर्वमा सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ तिर्न बाध्य
मिति: २०२४-११-०१ , समय : १२:३०:०८ , गामघर डेस्क
मिति: २०२४-११-०१ , समय : १२:३०:०८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । तिहार र छठका लागि मधेस प्रदेशको महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपाली ग्राहकले एक सय भारुको लागि एक सय ६६ रुपैयाँ तिर्दै आएका छन् । भारतीय एक सयको एक सय ६० रुपैयाँमा कारोबार हुने गर्छ । तर नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नभएको अवस्थामा भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो ।
महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा यतिबेला नेपाली ग्राहक किनमेल गर्न पुग्ने गर्छन् । चाडबाडको किनमेल गर्न पुग्ने नेपालीलाइ भारतीय व्यापारीले कमिशन लिएर सामग्री दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले गुनासो गर्नुभयो । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताउनुभयो ।
त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताउनुभयो । यो बोहक महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली एक सय ६६ रुपैयाँ लिने गरेका छन् ।
सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले एक हजार बराबर नेपाली एक हजार छ सय रुपैयाँ दिए मात्र पाउने गरेका छन् । साथै कुनै ठाउँमा आठ रुपैयाँसम्म पनि बट्टा (कमिशन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन् । नेपाली बजारमा मालवस्तु महँगो पर्ने र भारतीय बजारमा केही सस्तो भएको हुँदा बट्टा तिरेर पनि भारतीय बजारमा किनमेल हुने गरेको छ । रासस
प्रकाशित मिति: २०२४-११-०१ , समय : १२:३०:०८ , 8 months अगाडि