सप्तरीको पश्चिम नाकाबाट स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेआम तस्करी
मिति: २०२४-१२-२६ , समय : १६:०५:१७ , गामघर डेस्क
मिति: २०२४-१२-२६ , समय : १६:०५:१७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको पश्चिमी नाका बेल्हीबाट पिकअप भ्यान र ट्रयाक्टरमा तस्करी हुन थालेको छ। मध्यराति गाउँ सुनसान भएपछि पिकअप भ्यान र ट्र्याक्टरमै सामान लोड गरी भारत–नेपाल ओहाेर–दोहाेर हुने गरेको छ ।
तस्करीको समाचार संकलनका लागि मंगलबार राति नयाँ पत्रिकासहितका सप्तरीका ६ जना पत्रकारको टोली सो क्षेत्र पुगेकाे थियाे । भारततर्फ गाडी जाने टिकुलियाको बाटोमा सञ्चारकर्मीले पर्खिरहँदा सो राति त्यसभन्दा पश्चिम चनही चौकबाट महुआ हुँदै बेल्हीको बाटोबाट गाडी ओहाेर–दोहाेर सुरु भएको थियो ।
सो जानकारीपश्चात् राति करिब साढे १२ बजे सञ्चारकर्मीको टोली चनही चौक पुगेकाे थियाे । सोही समयमा त्रिपालले छोपिएको को.१च ९७६२ नम्बरको एक पिकअप भ्यान बेल्हीबाट भारत जाने बाटोबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएको उक्त पिकअपमा दुई हजार किलो चिनियाँ लसुन लोड रहेको सशस्त्र प्रहरी गण नं. ६ का गणपती ज्ञानमणि पौडेलले बताए ।
कसरी भागे चालक ?
उक्त पिकअप नियन्तणमा लिए पनि गाडीचालक सशस्त्रको घेराबाट फरार भए । सशस्त्रको घेराबाट चालक फरार भएर भाग्ने घटना शंकास्पद देखिएको छ। राति नियन्त्रणमा लिएको उक्त गाडी त्यतिवेलै सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल गण नं ६मा ल्याएकाे थियाे।
सो राति उक्त पिकअप नियन्त्रणमा लिएर सशस्त्र प्रहरी फर्केपछि अन्य गाडी निर्वाध रूपमा ओहाेर–दोहाेर गरेका थिए । स्रोतका अनुसार नियन्त्रणमा लिइएको सामान सो क्षेत्रबाट तस्करी गर्ने मो. सागिरको हो । अन्यले सशस्त्रलाई मोटो रकम तिरेर तस्करीको लाइन लिएर कारोबार गर्दै आएको वेला मो. सागिरले विनालाइन सामान भारत छिराउन लाग्दा नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । ‘बोर्डरमा सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा राति घण्टौँ गाडी ओहाेर–दोहाेर गर्छन्, तर पक्राउ पर्दैनन्, विनाप्रहरीको मिलोमतोमा कहाँ सम्भव हुन्छ र ?’ एक स्थानीयले भने।
तस्करीका तीन बाटा
तस्करी नियन्त्रण गर्न बोर्डरमा रहने सशस्त्रले नै लाइन दिएपछि सो क्षेत्रबाट तस्करी सुरु भएकाे कतिपय स्थानीयको आरोप छ । अहिले त्यहाँ तेस्रो मुलुकबाट आयात गरिएको चिनियाँ लसुन र कस्मेटिकका सामानहरू भारत पठाउने तथा उताबाट किरानाका सामानहरू नेपालतर्फ तस्करी हुने गरेको छ।
तस्करीका लागि सो क्षेत्रका खासगरी तीनवटा बाटो प्रयोग हुने गरेका छन् । रौतहट चौकदेखि नहरको बाटो, चनही चौकदेखि बेल्हीको बाटो र बलान नदी हुँदै दुधैलाको बाटो तस्करीका लागि प्रयोग भइरहेका छन्। चनही चौकदेखि बेल्हीको बाटोमा बलानबिहुल गाउँपालिकाले जडान गरेको सिसिटिभीमा पनि सधैँ राति ओहाेरदोहाेर गर्ने रेकर्ड हुने गरेको छ ।
०८० जेठ ३ गते मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले बलानबिहुल गाउँपालिका– ४ बेल्हीबाट ३८५ कार्टुन स्याउ बरामद गरेको थियो । ०७९ भदौ ७ गते बलानबिहुल गाउँपालिका– ४ बेल्हीमा भारतबाट ल्याएर घरमा राखिएको तस्करीको सामान नियन्त्रणमा लिन जाँदा प्रहरी र तस्करबिच झडप भएको थियो ।
यसअघि पनि यहाँबाट तस्करी हुने गरेको थियो । तर, सो तथ्य बाहिरएपछि केही समयदेखि कारोबार बन्द थियो। यहाँबाट लाइन नपाएका ती तस्करले छुट्टाछुटै सप्तरीकै बनैनियाँ, पातोको बाटो प्रयोग गरी तस्करी सुरु गरेका थिए। त्यहाँबाट लाइनपाएपछि पुनः सो क्षेत्रबाट तस्करी सुरु भएको छ । सशस्त्र प्रहरी गण नं. ६ का गणपति ज्ञानमणि पौडेल सशस्त्रको मिलोमतोमा तस्करी भइरहेको कुरा नकार्छन् । तस्करीका लागि अहोरात्र खटिरहेको सशस्त्रकै कारण अवैध लसुन नियन्त्रणमा लिएको उनको भनाइ छ ।
सशस्त्र प्रहरीको मुख्यालयले तस्करीमा सघाउने तराईका जिल्लामा कार्यरत सशस्त्र प्रहरी अधिकृतहरूलाई निगरानीमा राखी धमाधम तानेर कारबाही गरिरहेको छ । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२४-१२-२६ , समय : १६:०५:१७ , 4 months अगाडि