मधेश प्रदेशका जिल्लाहरुमा आज जुडशीतल पर्व मनाईदै

मिति: २०२५-०४-१५ , समय : ०९:०२:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरी सहित मधेश प्रदेशका जिल्लाहरुमा आज सिरुवा अर्थात जुडशीतल पर्व हर्षोल्लासका साथ मनाईदैछ ।
सिरुवा पर्वका अवसरमा विहानै मान्यजनहरुबाट टाउँकाेमा पानी थाप्नुका साथै खानाका विभिन्न परिकारहरु खाएर मनाईने गरिन्छ । प्रत्येक बर्ष वैशाख १ गते अर्थात नयाँ वर्ष प्रवेश गरेको दिन विभिन्न अन्नलाई पिँधेर बनाईएको सत्तु खाएर सतुवाइन मनाइने गरिन्छ । साथै एक–आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
वैशाख २ गतेका दिन मनाईने सिरुवा पर्वका अवसरमा युवाहरुले एक अर्काको जिउमा हिलो छ्यापेर रमाइलो गरिन्छ । होली अर्थात फगुवा पर्व जस्तै रमाइलो गरिन्छ । यस अतिरिक्त सिरुवा पर्वकै दिन सडक तथा बाटो–घाटोमा पानी पटाउनुका साथै रुख विरुवामा समेत पानी हाल्ने गरिन्छ ।
घरमा बनाईएको थरीथरीका तरकारी तथा पकवानहरु पहिलो चुलो अर्थात अग्नी देवतालाई चढाईन्छ । चुलोको पुजा गरिसकेपछि मात्र परिवारका सदस्यहरुका साथै छरछिमेकका व्यक्तिहरुलाई आमन्त्रित गरी खुवाउने गरिन्छ । सिरुवाका दिन मिठो मसिनो खाएपछि वर्षभरी नै शुभ रहने जनविश्वास रहेको छ ।
सिरुवाका दिन एका विहानै बालिएको चुलो खाना बनाईसकेपछि विधिवत पूजा गरेर सोही दिन पुनः बालिदैन । उक्त दिन चुलोलाई विश्राम दिने परम्परा रहेको छ । यता जुडशितल पर्वकाे अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: २०२५-०४-१५ , समय : ०९:०२:२२ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित