जसपा नेतृ डा.बबी सिंह यादवले डान्स गर्दा पड्काएको‘पेस्तोल’सर्लाहीबाट बरामद
मिति: २०२५-०५-०१ , समय : १६:५४:२५ , गामघर डेस्क
मिति: २०२५-०५-०१ , समय : १६:५४:२५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल मधेस प्रदेशको सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका वडा न.२ का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद भएको पेस्तोल नक्कलीजस्तै देखिएको बताए ।
उनले भने, ‘त्यो पेस्तोल बरामद गरेर ल्याएका छौं । खेलौनाजस्तै देखिएको छ । अनुसन्धान भइरहेको छ ।’
पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको राईले बताए । उनका अनुसार अन्जनीले वसन्त कुमारको छोरी कोमल सुप्रियाको हल्दी रेशममा बबीले त्यो पेस्तोल बोकेर डान्स गरेको बयान दिएका छन् ।
यता नेतृ डा. बबीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाएर अनुसन्धान थालिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले नेतृ बबीसँग बयान लिएको र अहिले कागज गराउन लागेको बताए ।
उनले कागज गरेर तत्कालका लागि नेतृ बबीलाई छाड्ने जानकारी दिए ।
एसपी खतिवडाले भने, ‘पेस्तोल नक्कली हो कि सक्कली भन्ने कुरा परीक्षण नगरी भन्न सकिँदैन । हामी टेक्निकल मान्छे त होइन । यता सर्लाहीमा बरामद पेस्तोल परीक्षणका लागि विधि विज्ञान काठमाडौं पठाइन्छ । त्यसको रिपोर्ट आएपछि बाँकी कुरा हुन्छ ।’
प्रकाशित मिति: २०२५-०५-०१ , समय : १६:५४:२५ , 1 day अगाडि