सुनसरीको विभिन्न नाकामा खुलेआम तस्करी : स्थानीय प्रहरी प्रशासनकाे संलग्नतामा तस्करी भइरहेको खुलासा

मिति: २०२५-०५-०६ , समय : १३:४०:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. ५ स्थित साहेबगञ्ज नाकामा तस्करी गतिविधि दिनप्रतिदिन तीब्र रुपमा बढ्दै गएको छ। भारतसँगको खुला सिमानाका कारण यो नाका वर्षौंदेखि संवेदनशील रहँदै आएको भए पनि पछिल्लो समय सुरक्षा निकायको लापरवाही तथा आन्तरिक मिलेमतोका कारण समस्या अझ गम्भीर बन्दै गएको छ।

स्थानीयहरूका अनुसार सीमामा सुरक्षाको जिम्मेवारी पाएका शसस्त्र प्रहरी बल र नेपाल प्रहरी दुवै निकाय तस्करी नियन्त्रणमा पूर्णतः असफल देखिएका छन्। अझ गम्भीर कुरा त, स्थानीय सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) अनि तामाङमाथि नै तस्करीमा संलग्न व्यक्तिहरूसँग मिलेमतो रहेको गम्भीर आरोप लागिरहेको छ।

साहेबगञ्ज नाकाबाट दैनिक रूपमा नेपाल तर्फबाट लागुऔषध गाँजा, मदिरा, तथा भारत तर्फबाट लागुऔषध फेन्सीड्रिल, करेक्स, रज्निगन्धा, तरकारी, चिनी, लत्ताकपडा, तेल, खाद्यान्नलगायतका वस्तुहरू साना गाडी, साइकल, मोटरसाइकल र पैदल यात्रीमार्फत भित्र्याइन्छ। स्थानीयले आरोप लगाएका छन् कि तस्करीको समय, मार्ग र ढुवानीका सवारी साधनबारे सुरक्षाकर्मीलाई पहिले नै जानकारी हुन्छ, तर उनीहरू जानाजानी आँखामा पट्टी बाँधेर बस्ने गरेका छन्।
प्रहरी निरीक्षक तामाङ र शसस्त्र प्रहरी बल साहेबगञ्ज प्रमुखसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा आएनन्। तर सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख निर्मल थापाले भने “सम्बन्धित निकायले यस विषयमा छानबिन गर्न तत्पर छ, हामी यस माथि निगरानी गरेर उचित कार्वाही गर्ने छौं” सिमाक्षेमा हुने गरेको चोरी तस्करी रोक्न हामी प्रतिबद्ध छौं” । सुनसरी न्युजबाट

प्रकाशित मिति: २०२५-०५-०६ , समय : १३:४०:५१ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित