जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक सञ्चालनमा, यस्तो छ भाडादर…

मिति: २०२६-११-२७ , समय : ०७:५०:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गले जोड्दै जनकपुरधाम र भारतको अयोध्याबीच सुरु गरिएको सरयू–कमला एक्सप्रेस शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक साता नबित्दै रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ पनि बिहीबार (आज) देखि टिकट बिक्री सुरु गर्ने तयारी गरिएको छ।

निर्धारित समयतालिकाअनुसार सरयू–कमला एक्सप्रेस प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ। साप्ताहिक रूपमा सञ्चालन हुने यो सेवाले दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहजता प्रदान गर्नेछ।
रेल सेवाले धार्मिक यात्राको दूरी मात्र घटाउने छैन, नेपाल र भारतका दुई ऐतिहासिक तथा सांस्कृतिक सहरबीचको सम्बन्धलाई पनि थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। साथै, भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्दै स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

यस्तो छ चार श्रेणीको भाडादर

भारतीय रेल्वेले यात्रुको सुविधाअनुसार चार श्रेणीमा भाडादर निर्धारण गरेको छ। शयनयान श्रेणीका लागि ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमीका लागि ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीका लागि ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीका लागि १ हजार ३६० भारतीय रुपैयाँ भाडा तोकिएको भारतको रेल्वे मन्त्रालयले जनाएको छ।

नेपाली यात्रुलाई परिचयपत्र अनिवार्य

रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिन सक्नेछन्।
जनकपुरधाम–अयोध्या चल्ने रेलमा कुल १७ वटा डिब्बा रहनेछन्। जसमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा रहनेछन्।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशका तीर्थयात्रीको धार्मिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।प्रधानमन्त्री शाहको राजकीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झन्डा देखाएर रेललाई अयोध्याका लागि बिदाइ गरेका थिए ।गत सोमबार दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्दा सरकारी टोली तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए ।नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर रेलको स्वागतमा पुगेका उनीहरूले रेलमा सवार तीर्थयात्रीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२६-११-२७ , समय : ०७:५०:५५ , 40 minutes अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित