भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ जनालाई मृत घोषणा गर्न सरकारलाई सिफारिस
मिति: २०२६-११-२७ , समय : ०७:४८:०७ , गामघर डेस्क
मिति: २०२६-११-२७ , समय : ०७:४८:०७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ नेपाली र १९ विदेशी नियोगबाट प्राप्त विवरणअनुसारका ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ ।
यसअघि बेपत्ता नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो । विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट सूची माग गरिएको थियो ।सम्भावित दाबी तथा विवरणको यकिनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।यसैबीच, कार्यकारी समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ । सन् २०३० अर्थात् २०८७ सम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्यसहित बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने मार्गचित्रमा उल्लेख छ ।
बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना २०८३र८४ देखि २०९१र९२ सम्मका लागि स्वीकृत गरेको छ । त्यस्तै, वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको छ ।
बैठकले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोकागाउँ र मालागाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचागाउँका २२ घरधुरीलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा सार्न स्वीकृति दिइएको छ ।
त्यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवलगाउँका ३२ घरधुरीलाई फिलिमगाउँमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ ।
प्रकाशित मिति: २०२६-११-२७ , समय : ०७:४८:०७ , 42 minutes अगाडि