सप्तरीको हनुमाननगर जेल ब्रेकको ८२ बर्ष ….
मिति: २०२५-०५-२२ , समय : १७:१३:२२ , गामघर डेस्क
मिति: २०२५-०५-२२ , समय : १७:१३:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको हनुमाननगर जेल ब्रेकको ८२ वर्षको अवसरमा नेपाल –भारत जनसम्बन्ध एकता कार्यक्रमको आयोजना गरिएको छ ।
राजबिराजमा नेपाल –भारत जनमैत्री एकता मंच सप्तरी द्वारा बिहीवार आयोजित कार्यक्रममा नेपाल–भारत बिचको सम्बन्धलाई सुमधुर बनाउनु पर्नेमा वक्ताहरुले जोड दिनु भएका छन ।
सो अवसरमा अबधेश झाले कार्यक्रमको उद्देश्य बारेमा चर्चा गर्दैले भारतीय स्वतन्त्रता आन्दोलमको क्रममा हनुमाननगर जेल ब्रेक सप्तरीबासीको ठुलो योगदान रहेको चर्चा गर्नु हुदै स्वतन्त्रता आन्दोलनको ऐेतिहासिक घटनालाई जनसमुदायमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनु भयो ।
सप्तरीको हनुमाननगर जेल ब्रेक गरेर जयप्रकाश नारायण, डा. राम मनोहर लोहियालाई हनुमाननगर जेलबाट मुक्त गराई भारत पठाएका थिए ।
कर्यक्रममा इतिहासविज्ञ डा. पिताम्बर यादबले विसं २००० साल जेठ ९ गते राती १२ बजेको समयमा सप्तरीको हनुमाननगरस्थित गारथ(जेल)मा नेपाली र भारतीय क्रान्तिकारीले एकैचोटी आक्रमण गरी भारतीय स्वतन्त्रता आन्दोलनका अगुवाहरु जयप्रकास नारायण, डा .राममनोहर लोहिया सहितका नेताहरुलाई रातारात भगाएर सीमा कटाएको बताउनु भयो । भारतीय स्वतन्त्रता आन्दोलन र नेपालमा राणा बिरोधी आन्दोलनलाई उचाईमा पुर्याउने इतिहासको महत्वपुर्ण घटना भएको ठाउँ अहिले ओझेलमा परेको छ ।
उहाँले तत्कालिन आक्रमण भएको स्थान वडाहाकिम कार्यालयको जग्गामा राणा कालिन गारद (जेल)को अवशेष रहेको ठाउँ जेल ब्रेकको समयमा क्रान्तिकै क्रममा मारिएका सप्तरी ईनर्वाका प्रहरी महेन्द्र देवको मृत्यु पछी गारद (जेल)रहेको र वडाहाकिम कार्यालय रहेको जग्गा तात्कालिन सरकारले देवको परिवारलाई दिएको बताउनु भयो । भारतमा अंग्रेजको शासनकाल र नेपालमा जहानियाँ राणा शासन र अंग्रेजबीच सामीप्यता थियो । भारतमा स्वतन्त्रताको कुरा गर्नेलाई ब्रिटिस शासकको हण्डर खानुपर्ने अवस्था थियो भने नेपालमा भर्खर सुरु भएको राणाविरोधी आन्दोलनलाई रोक्न शासक झनै क्रुर बन्दै गएका थिए । भारतमा ब्रिटिस साम्राज्यविरुद्धमा आन्दोलन चर्किए पछि भारतिय कांग्रेसका जयप्रकाश नारायण, डा.राममनोहर लोहियालगायत नेता भारतका विभिन्न भागमा पुग्दै आन्दोलनमा जनसमर्थन जुटाउँदै अंग्रेज शासनका विरुद्धमा संघर्षरत थिए ।
स्वतन्त्रता पक्षधर बिहारका समाजवादी नेता सुरजनारायण सिंहलाई साथमा लिएर सप्तरीको कोइलाडी बरसाइनमा तत्कालीन राणाविरोधी आन्दोलनलाई मलजल गरिरहेका रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, जयमंगल प्रसाद सिंह (रामराजाप्रसाद सिंहका बुवा) सँग समाजवादी नेताहरूको बैठक भयो। नेपाली नेताहरूले भारतीय स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्ने वचन दिएपछि भारतीय समाजवादी नेताले नेपालमै क्याम्प राखेर अंग्रेजविरोधी आन्दोलन हाँक्न हालको सुनसरीको लौकही नजिक रहेको हल्दीबारीमा क्याम्प स्थापना गरेपछि भारतीय नेताले सशस्त्र आन्दोलनका लागि आजाद दस्ताका सिपाहीलाई तालिम दिने स्थानको खोजी गरेमा लागेका थिए ।
सप्तरीमा चुरे पहाडको छेउ सुरुङ्गामा ट्रेनिङ सेन्टर स्थापना गरेर ट्रेनिङ सञ्चालनको लागी रकमको लागी भक्तपुरका जमिनदार दलबहादुर प्रजापतिले सप्तरीको खुदीबखारीस्थित आफ्नो कामतको उब्जनीबाट आउने रकम स्वतन्त्रता पक्षधरहरूको भरणपोषणका लागि दिनु भयो ।
हल्दीबारी क्याम्पबाट राणा शासकले भारतीय स्वतन्त्रता आन्दोलनका अगुवाद्वय जयप्रकाश नारायण, डा. राममनोहर लोहियासहित कार्तिकप्रसाद सिंह, डा. बैजनाथ झा, ब्रजकिशोर शास्त्री, बाबा श्यामनन्दनलाई पक्राउ ग¥यो । उनीहरूलाई पक्राउ गरी हनुमाननगर गारथ(जेल)मा ल्याइयो। त्यो बेला हनुमाननगरबाट सप्तरीको सदरमुकाम राजविराज सारिए पनि बडाहाकिमको कार्यालय, गोस्वरा र गारथ भने हनुमाननगरमै थियो । भारतीय समाजवादी नेतालाई पक्राउ गरिसकेपछि राणा शासकले उनीहरूलाई अंग्रेजलाई सुम्पने योजना बनाएका थिए । भारतमा उहाँहरूलाई फाँसी झुन्डयाउने अंग्रेज शासकको तयारी थियो ।समाजवादी नेताहरूलाई ब्रिटिसलाई सुम्पे स्वतन्त्रता आन्दोलनलाई नै धक्का लाग्ने भएपछि भारतीय नेताहरू र नेपालमा कोइलाडी र बरसाइनका नेताहरू रामेशवरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह, मीनबहादुर सिंह लगायतका नेताले उनीहरूलाई जेलबाट भगाउने योजना बनाउनु भयो ।विसं २००० सालको जेठ ९ गते राति १२ बजे हनुमाननगरस्थित जेल (गारथ) मा आक्रमण गरेर भारतीय समाजवादी नेतालाई भगाउने योजना बनाउनु भयो । बरसाइनका रामेश्वरप्रसाद सिंहको घरमा छोरीको विवाह विवाहमा धेरै मानिस आएकाले राणाका खुफियाहरूले आजाद दस्ताका लडाकुका बारेमा सुइँको पाउन सकेनन ।आफ्नो दिदीको जन्तीका लागि बनाइएको खाना आजाद दस्ताका लडाकुलाई खुवाई जेल आक्रमण गर्न पठाएको रामेश्वरप्रसाद सिंहका छोरा वरिष्ठ अधिवक्ता हिम्मत सिंहले बताउँछन । गारथको छेउमा रहेको परालको टालमा आगो लगाएपछि त्यहाँ रहेका राणा शासनका सिपाहीको ध्यान उता केन्द्रित भएपछि उनीहरूलाई नियन्त्रणमा लिँदै गारथभित्र राखिएका समाजवादी नेताहरू जयप्रकाश नारायण, डा. लोहियासहितलाई भगाउन आजाद दस्ता सफल भयो। जेलबाट भगाएपछि नेपाली नेताहरूले उहाँहरूलाई कोसी हुँदै भारत पठाउनु भयो । परिणाम सन् १९४७ को १५ अगस्तका दिन भारत ब्रिटिसको शासनबाट स्वतन्त्र भयो । गारथमा आक्रमण गरी भारतीय नेताहरूलाई भगाइएपछि राणाहरू नेपाली स्वतन्त्रता पक्षधर नेताहरूप्रति झन क्रुर भएपछि रामेशवरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह लगायत करिब २ सय जनालाई राणा शासनले सप्तरीबाट पक्राउ गरी केन्द्रीय कारागारमा राखेको इतिहासकार डा.पिताम्बरलाल यादवले बताउनु भयो । उहाँका अनुसार राणा शासनको यातनाकै कारण केन्द्रीय कारागारमा रहेका सप्तरीका अब्दुल मियाँ र कृष्णबिर कामीको बन्दी अवस्थामै मृत्यु भयो ।राणा शासनका विरुद्ध पहिलोपटक हनुमाननगर जेल ब्रेकको समयमा गोली चलेको बताउनु भयो । डा. यादवले टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको प्रजा परिषद काठमाडौं बाहिर गतिविधि गर्न नसकिरहेका बेला हनुमाननगर काण्डले सप्तरीलगायत जिल्लामा राणाविरोधी आन्दोलन चर्काएको बताउनु भयो ।
भारतीय नेताहरूलाई जेल तोडेर भगाएपछि राणाविरोधी आन्दोलनको पृष्ठभूमि तयार भएको यो घटनाले सप्तरीवासी सहित नेपालका प्रजातन्त्रवादीहरुमा राणा शासकको विरुद्धमा लाग्न नयाँ चेतना,उर्जा,जो्श,शक्ति र जागरुकता प्रदान गरेकोले भारतीय स्वतन्त्रता आदोलनसंग जोडिएकोले यस इतिहासबारमा थप अनुशन्धान,सोधखोज गर्नु आवश्यक रहेको बक्ताहरुले जोड दिनु भयो ।
पूर्व मन्त्री उमेशकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादब, इतिहासविज्ञ डा. पिताम्बर यादब, मबिव क्याम्पस प्रमुख डा. सुशील कर्ण, तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष अरुण कुमार मण्डल, विष्णुकुमार गाउपालिका अध्यक्ष उमेश यादब, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासँघ शाखा सप्तरी अध्यक्ष श्रवण देव, समाजसेवी ध्ुव देव,नेपाल भारत मैत्री संधका अध्यक्ष मनोज मुन्धडा, सञ्चार ब्यवसायी,पत्रकार सुरज साह, दिपेन्द्र चौधरी,इर्साद अन्सारी, लगायतले नेपाल–भारत सम्बन्धको बारेमा चर्चा गर्दै हनुमाननगर जेल ब्रेक इतिहासलाई जीवन्त राख्नुपर्नेमा जोड दिनु भयो ।
प्रकाशित मिति: २०२५-०५-२२ , समय : १७:१३:२२ , 4 weeks अगाडि