सप्तरीमा अझै राेकिएन खुलेआम तस्करी : मदिराकाे तस्करी राेक्न खाेज्दा भन्सारका कर्मचारीमाथि आक्रमण , सरकारी गाडीमा समेत तोडफोड
मिति: २०२५-०६-०७ , समय : १८:४७:५३ , नविन निर्भय यादव
मिति: २०२५-०६-०७ , समय : १८:४७:५३ , नविन निर्भय यादव
नविन निर्भय यादव
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.२ बनैनिया टोलमा शुक्रबार राति करिब १२ बजे राजविराज भन्सार कार्यालयका कर्मचारीहरूले मदिरा तस्करी रोक्ने प्रयास गर्दा तस्करको समूहबाट आक्रमण भएको छ।
घटनास्थलमा रहेका स्थानीय प्रत्यक्षदर्शीका अनुसार, भन्सार कार्यालयका कर्मचारीटाेलीले बाइल गाडीमा लोड गरिएको मदिरा नियन्त्रण गर्ने प्रयास गरेका थिए। त्यसक्रममा तस्करहरूको एक समूहले कर्मचारीहरूलाई कुटपिट गर्नुका साथै सरकारी गाडीमा तोडफोड गरे।
तस्करहरूले आक्रमण गर्दा सरकारी गाडीमा ढुंगा प्रहार गरिएको थियो। बा २ झ १३४३ नम्बरको गाडीको अगाडिको सिसा फाेडिएको छ। भन्सार कार्यालयका कर्मचारीहरूले लगभग १५ काटुन दिलबाले मदिरा जफत गरेका थिए।
घटनापछि सरकारी अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्। तर, भन्सार कार्यालयका अधिकृतसँग सम्पर्क प्रयास गर्दा फोन उठाएन ।
यस घटनाले सप्तरी क्षेत्रमा तस्करी नियन्त्रणसम्बन्धी चुनौतीहरू थप बढाएको छ। स्थानीय प्रशासनले तस्करहरूको पहिचान गर्दै कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
सप्तरीमा तस्करीको समस्या पहिलेदेखि नै रहेको छ। विशेष गरी सीमावर्ती क्षेत्रहरूमा मदिरा, खाद्यान्न, कपडा तथा अन्य सामग्री तस्करी भइरहेका छन्।
नियन्त्रणका प्रयासहरूले केही सफलता प्राप्त गरे तापनि तस्करहरूको आक्रमणले कर्मचारीहरूको सुरक्षामा चुनौती उत्पन्न गराएको छ। स्थानीय प्रशासनले कानून कार्यान्वयनलाई प्रभावकारी बनाउन थप सुरक्षा व्यवस्था गर्ने योजना बनाइरहेको छ।
प्रभावित क्षेत्रका नागरिकहरूले यस्ता गैरकानुनी गतिविधिहरू रोक्न सरकारलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। साथै, भन्सार कर्मचारीहरूको सुरक्षाका लागि आवश्यक उपाय अपनाउन माग गरिरहेका छन्।
यता साे घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेकाले दोषीहरू पहिचान गरेर कानुनी कारबाही अघि बढाइने बताइएको छ। प्रशासनले स्थानीय समुदायसँग समन्वय गर्दै तस्करी रोकथामका उपायहरू खोजिरहेको छ। तर सप्तरीका अधिकाश सिमावर्ति नाकाहरुमा सिमामा खटिएका सशस्त्र तथा नेपाल प्रहरीकै मिलाेमताेमा खुलेआम तस्करी भइरहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : १८:४७:५३ , 1 week अगाडि