मधेस प्रदेशमा चल्यो गोली : प्रहरी निरीक्षक सहित तीन जना घाइते
मिति: २०२५-०६-२१ , समय : १२:१५:०३ , गामघर डेस्क
मिति: २०२५-०६-२१ , समय : १२:१५:०३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा शनिबार बिहान सडक विस्तारको कामको क्रममा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।
घटनास्थलमा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी बालिष्टर सिंहले जानकारी दिए । उनका अनुसार प्रहरी निरीक्षक गणेश झडप नियन्त्रण गर्ने क्रममा घाइते भएका हुन् भने अन्य दुई जना स्थानीयबीचको आपसी झडपमा घाइते भएका हुन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याउने काम जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट डिएसपीको नेतृत्वमा र सशस्त्र प्रहरी बलसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार स्थिति अहिले नियन्त्रणमा छ र अवस्था सामान्य बन्दै गएको छ । यसअघि बिहीबार सडक विस्तारको क्रममा केही स्थानीय महिला र पुरुषले एक महिलामाथि आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तनाव चुलिएको हो । त्यसको प्रत्यक्ष असर शनिबारको झडपमा देखिएको बताइएको छ ।
प्रकाशित मिति: २०२५-०६-२१ , समय : १२:१५:०३ , 4 hours अगाडि