जनमत पार्टीकी सांसद रायमाझीवरुद्ध पक्राउ पुर्जी जारी
मिति: २०२५-०६-२३ , समय : ०७:५८:१० , गामघर डेस्क
मिति: २०२५-०६-२३ , समय : ०७:५८:१० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य रहेकी रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस यता सुमन भने फरार छिन् ।पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो ।
जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् ।
तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको र उनले फेरि अरू दुई वटा चेक दिएको र ती चेक पनि बाउन्स भएको पीडितको आरोप छ ।
आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पार्टीमै दुवै जनाबिच चिनजान भएको हो । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमनबिच घनिष्ठ बनेका थिए । यतिसम्म कि, कार्यक्रमका लागि पर्सा आएकी सुमन होटल छाडेर आशाको घर बस्थिन् ।
दुई दिनको पार्टीको कार्यक्रम सके पनि सुमन विभिन्न बहानामा १० दिनसम्म आफ्नो घरमा बस्ने गरेको आशाले बताइन् । १० दिनमै आफ्नो परिवारसँग सुमन घुलमिल हुन सकेको पनि उनले बताइन् ।
रायमाझी पूर्वमन्त्री समेत हुन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन्।साथै उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषी मन्त्री भएकी थिइन्।
प्रकाशित मिति: २०२५-०६-२३ , समय : ०७:५८:१० , 5 hours अगाडि