मधेस प्रदेश : बैंक लुटपाटमा संलग्न लोहनी पक्राउ

मिति: २०२५-०६-२७ , समय : १२:०४:०७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट नौ लाख रुपैयाँ लुटिएको घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो । लोहनी २०७९ फागुन १० गते मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै भएको लुटपाट घटनामा संलग्न थिए ।सो दिन ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट रकम लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी लोहनीसहित चारजनाको समूहले पिस्तोल देखाएर लुटपाट गरेका थिए । उनीहरू नम्बर नखुलेका मोटरसाइकलमा आएका थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई हतियार देखाई कुटपिट गर्दै बैंक कर्मचारीसँग रु नौ लाख लुटेर उनीहरू फरार भएका थिए । यता घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको र जिल्ला अदालत सिरहामा पेस गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-२७ , समय : १२:०४:०७ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित