मधेश प्रदेशमा खडेरीले मर्कामा परेका किसानलाई उचित राहतको व्यवस्था गर्ने सरकारको तयारी
मिति: २०२५-०७-२५ , समय : ०९:३६:३७ , गामघर डेस्क
मिति: २०२५-०७-२५ , समय : ०९:३६:३७ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । कृषि मन्त्रालयले मधेश प्रदेशका किसानका लागि राहतसहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।
विपद् सङ्कटग्रस्त क्षेत्रमा तत्कालै आवश्यक पर्ने विषयमा अध्ययन गर्न प्रभावित क्षेत्रमा टोली पनि खटिएको छ । टोलीको रायसुझावका आधारमा किसान केन्द्रित कार्यक्रम लैजाने मन्त्रालयको योजना छ ।
मन्त्रालयका अनुसार खानेपानी र बालीको उत्पादन लिन आवश्यक सिँचाइका लागि अल्पकाल र दीर्घकालका योजनासहित काम हुनेछ ।
मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको आधा पनि रोपाइँ हुन सकेको छैन । अब धानको रोपाइँ भए पनि त्यसले पर्याप्त उत्पादन दिन सक्ने सम्भावना कम हुन्छ ।
त्यसैले खेतियोग्य जग्गाजमिन त्यसै राख्नुभन्दा वैकल्पिक बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने गरी काम हुने मन्त्रालयले जनाएको छ ।
त्यसमा मुख्यगरी कम पानीमै उत्पादन लिन सकिने कोदो र कोदोजन्य बाली प्रमुख हुन सक्ने कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले बताउनुभयो ।
कृषि विज्ञहरूले धान उत्पादनको सोझो सम्बन्ध देशको कुल गार्हस्थ्य उत्पादनसँग हुने भएकाले अहिलेको सङ्कटको तत्काल व्यवस्थापन खोज्न र किसानलाई आवश्यक राहत उपलब्ध गराउन जोड दिएका छन् ।
नेपालमा कृषिले कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ हिस्सा ओगट्छ । त्यसमा धान उत्पादनको प्रमुख भूमिका रहन्छ । गएको वर्ष धान उत्पादन ५९ लाख मेट्रिक टन नाघेको थियो ।
नेपालको कुल धानमध्ये एक तिहाइ मधेश प्रदेशमा उत्पादन हुने गर्छ । तर यसवर्ष मधेश सुक्खा खडेरीको चपेटामा परेको छ ।
अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्याे । अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । उज्यालो
प्रकाशित मिति: २०२५-०७-२५ , समय : ०९:३६:३७ , 1 day अगाडि