सप्तरीको कञ्चनरुप नगरपालिकाका वडाध्यक्ष र सचिवविरुद्ध अख्तियारमा उजुरी
मिति: २०२५-०८-०२ , समय : २२:४२:५४ , गामघर डेस्क
मिति: २०२५-०८-०२ , समय : २२:४२:५४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.२ का वडाध्यक्ष र वडा सचिव विरुद्ध झूठो विवरण दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको छ ।
कञ्चनरुप नगरपालिका वडा न.२ का वडाध्यक्ष मेहदी हुसेन र वडा सचिव युनिस मन्सुरीविरुद्ध मृतकको झूठो विवरणसहित नामसारी गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको हो ।
जिल्लाको कञ्चनरुप –२ का ४९ वर्षीय प्रकाश पण्डितले बुवा फागु पण्डित, वडा अध्यक्ष मेहदी हुसेन र वडा सचिव युनिस मन्सुरीसहित अन्य व्यक्तिहरूमाथि मिलेमतोमा जग्गा हडप्ने नियतले झूठो विवरण बनाएर सिफारिस गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दिएका हुन्।
प्रकाशका अनुसार, उक्त जग्गा आमा स्वर्गीय अनुरागी देवी कुम्हारको नाममा २०४८ सालमा माईती पक्षको रकमबाट खरीद गरिएको निजि स्त्री अंशधनको सम्पत्ति हो। आमाको निधनपछि कानूनीरूपमा छोरा प्रकाश पण्डित र नन्द किशोर पण्डित मात्र हकदार हुने हुँदा सोही अनुसार नामसारी हुनु पर्नेमा, बुवा फागु पण्डितले “स्व. श्रीमती अनुरागीको कुनै सन्तान छैनन्, म मात्र अपुताली हकदार हुँ“ भन्ने झूठो विवरण पेश गरी नामसारीको सिफारिस गराएका थिए।
नामसारी सिफारिसका लागि वडा कार्यालयबाट २०८१ साल जेष्ठ १६ गते सर्जमिन टोली खटाइएको थियो। सर्जमिनका क्रममा फागु पण्डितसहित अन्य स्थानीयहरू शिव पण्डित, वेचन गोश्वामी, महेश पण्डित, दानालाल पण्डित, कलेश्वरी देवी दास, र श्रीजना देवी पण्डित सहितले सर्जमिन प्रतिवेदनमा फागु पण्डितलाई मृतकको एक मात्र हकदार भन्दै झूठो सिफारिश दिएको उजुरीमा उल्लेख छन ।
प्रकाशको अनुसार, उक्त प्रक्रिया आर्थिक प्रलोभनमा आधारित रहेकाले हाम्रो हक अंशमा भएको जग्गा हाम्रो जानकारीबिना झूठो विवरण र सिफारिसमार्फत बुवाको नाममा गरिएको बताउदै यो नियोजित साजिश रहेकोले यसमा वडाध्यक्ष र सचिवको संलग्नता स्पष्ट रहेको उजुरी दावी गर्नु भएको छ । उहाँले उजुरीमार्फत सार्वजनिक पदमा बसेका व्यक्तिहरूले कानुन विपरीत कार्य गरेको, आर्थिक चलखेलमा संलग्न भएको र परिवारभित्रको सम्पत्तिमा जबर्जस्ती गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान र कारबाहीको माग गरेका छन्।
मालपोत कार्यालय कञ्चनपुरमा फागु पण्डितको नाममा जग्गा २०८१ साल जेष्ठ २२ गते नामसारी भएको थियो। अहिले उक्त सम्पत्तिमाथि अधिकारको विवाद उत्पन्न भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरी दर्ता भइसकेको र प्रारम्भिक अध्ययन थालिएको जनाएको छ।
प्रकाशित मिति: २०२५-०८-०२ , समय : २२:४२:५४ , 6 hours अगाडि