हत्याको फ्लाेअप समाचार : सघर्ष समितिद्वारा विभिन्न चार बुँदे माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम

मिति: २०२५-०८-०७ , समय : ०६:१६:२६ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीमा प्रहरीको गोली लागी लालुप्रसाद यादवको मृत्यु भएपछि राजगढ गाउँपालिकास्तरीय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
राजगढ गाउँपालिकास्तरीय संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले बुधबार साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई चार बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो ।
चार बुँदे ज्ञापन पत्रमा लालुलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र सप्तरीका प्रहरी उपरीक्षक गौतम प्रसाद केसीलाई अबिलम्ब विभागीय कार्वाही गर्न ज्ञापनमा मांग गरिएको छ ।
त्यस्तै लालु यादवको हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न माग गरिएको छ ।
२४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलन घोषणा गरिने ज्ञापन पत्रमा चेतावनी समेत दिइएको संघर्ष समितिका संयोजक यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै मंगलबार मध्यराति पुगेको प्रहरी टोलीले लालुमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उहाँको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो ।
यता प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छ भने मृतकका परिवारले नियन्त्रणमा लिई गोली चलाएको आरोप लगाएको छ ।

प्रकाशित मिति: २०२५-०८-०७ , समय : ०६:१६:२६ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित