विश्लेषण समाचार : सप्तरीमा लालु यादवलाई गोली हान्नै पर्ने अवस्था कसरी आयो त !
मिति: २०२५-०८-०८ , समय : १४:४४:२३ , गामघर डेस्क
मिति: २०२५-०८-०८ , समय : १४:४४:२३ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । सप्तरी जिल्लामा पछिल्लो समय तस्करीका घटनामा वृद्धि हुँदै जाँदा सुरक्षाकर्मी र तस्करहरूबीच बारम्बार झडप हुन थालेको छ। यस्ता झडपका क्रममा गोली चल्ने घटना दोहोरिन थालेका छन्, जसका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ।सिमा क्षेत्र नजिक रहेका बस्तिहरूमा चोरी पैठारी, अवैध सामानको ओसारपसार, तथा मानव तस्करीका घटनाहरू बढ्दो क्रममा छन्। सुरक्षा निकायले नियन्त्रणको प्रयास गरे तापनि तस्करहरूको सक्रियता कायमै छ।
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले तस्करी नियन्त्रण गर्ने नाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पक्रेर गोली हानेर मारेको आरोप लगाउँदै राजविराजमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रहरीविरूद्ध नाराबाजी गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका ३७ वर्षीय लालु यादवको मृत्यु भएको थियो । तर, सप्तरी प्रहरीले भने भारततर्फ भइरहेको मदिरा तस्करी नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीय व्यक्तिले घरेलु हतियारसहित आक्रमण गर्न थालेपछि प्रतिरक्षामा गोली चलाउनुपरेको दाबी गरेको छ । त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली तिघ्रामा लागि घाइते भएका यादवको उपचारको क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राति नै मृत्यु भएको छ । झडपमा दुई जना प्रहरीसमेत घाइते भएको र घटनास्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको प्रहरीको दाबी छ ।
घटनापछि आक्रोशित बनेका मृतकका आफन्त र स्थानीयले भने तस्करी नियन्त्रणको नाममा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर गोली हानेको दाबी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको मागसमेत गरेका छन् ।स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहेका मृतक लालु यादव मदिरा व्यवसायीसमेत हुन् । यसैबीच सप्तरी उद्योग वाणिज्य संघले कानुनबमोजिम आफ्नो व्यवसाय गरिरहेका यादवलाई प्रहरीले हत्या गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत बधबार नै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएका छन् ।व्यवसायीहरूले नियमपूवर्क सरकारले लगाएको कर बुझाएर सीमा क्षेत्रमा व्यसाय गर्दा तस्करीको नाममा यसरी व्यवासयी मार्ने कार्यमा संलग्न भएका माथि छानबिन हुनुपर्ने माग उद्योग वाणिज्य संघले गरेको छ ।
चार बुँदे मागसहित २४ घण्टै ज्ञापनपत्र
प्रहरीको गोली लागेर मृत्यु भएका लालु यादवको प्रकरणमा गठित संघर्ष समितिले २४ घण्टै अल्टिमेटमसहित चार बुँदै माग पूरा गर्न गएराति प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।स्थानीय नेपाली काँग्रेसका नेता दिपेन्द्र यादवको संयोजकत्वमा गठन भएको २५ सदस्यीय राजगढ गाउँपालिकास्तरीय संघर्ष समितिले मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएको हो ।
कमलपुरमा यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षकलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, प्रहरी उपरीक्षक गौतम केसीलाई अबिलम्ब विभागीय कार्वाही गर्नुपर्ने मागसहित यादव हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ । यसैगरी मृतक यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न मागसमेत प्रजिअलाई बुझाएको ज्ञापन पत्रमा गरिएको छ ।आफुहरुले सप्तरी प्रशासनसमक्ष राखेको माग २४ घण्टाभित्र पूरा नभए थप आन्दोलन घोषणा गर्न बाध्य हुने संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले जानकारी दिए ।
सिमा क्षेत्रमा पर्ने सप्तरीका विभिन्न स्थानहरू – विशेषतः भारतसँग सीमा जोडिएका गाउँहरू – तस्करीका लागि ‘हटस्पट’ बन्दै गएका छन्। विशेषगरी भारतसँग सीमा जोडिएका सप्तरीका दक्षिणी क्षेत्रहरू तस्करीको केन्द्र बन्दै गएका छन्। लागू औषध, मदिरा, खाद्य सामग्री लगायतका विभिन्न वस्तुहरू अवैध रूपमा ओसारपसार हुने क्रम बढिरहेको छ। तस्करी नियन्त्रण गर्ने प्रयासमा खटिएका सुरक्षाकर्मीहरू र तस्करहरूबीच झडप हुन थालेको छ। स्थानीय बासिन्दाहरू भने यस्ता घटनाले जनजीवन असुरक्षित भएको अनुभव गरिरहेका छन्। “रातको समयमा अज्ञात समूहको गतिविधि देखिन्छ, कहिले काहीँ गोलीको आवाजले सुत्नसमेत गाह्रो हुन्छ,“ एक स्थानीयले भने। तस्करीको समस्या केवल सुरक्षा चुनौती मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक समस्यासमेत हो। सीमामा यस्ता घटना दोहोरिनु सरकारको नीतिगत कमजोरीतर्फ संकेत हो। यसमा दीर्घकालीन रणनीति आवश्यक देखिन्छ।
हालका दिनहरूमा सुरक्षाकर्मी र तस्करहरूबीच बारम्बार झडप भइरहेको छ, जसले देशको सीमा सुरक्षा व्यवस्थामा गम्भीर चुनौतीहरू उत्पन्न गरेको छ। विशेष गरी सीमावर्ती क्षेत्रहरूमा यस्ता गतिविधिहरू बढ्दै गएका छन्। सरकारले सीमा क्षेत्रमा निगरानी प्रविधि, गस्ती टोली, र सूचना सङ्कलन प्रणालीलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ। साथै, स्थानीय समुदायसँग सहकार्य गरेर तस्करी विरुद्ध जनचेतना अभिवृद्धि गर्नुपर्ने समय आएको छ।
प्रकाशित मिति: २०२५-०८-०८ , समय : १४:४४:२३ , 1 day अगाडि