सप्तरीको हनुमाननगरमा गोबिन्द गणिनाथको भव्य कलश शोभा यात्रा
मिति: २०२५-०८-२३ , समय : १९:१७:४४ , रबि शर्मा
मिति: २०२५-०८-२३ , समय : १९:१७:४४ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर ।
सप्तरीको हनुमाननगर कन्कालिनी नगरपालिकास्थित हलुवाई (साह) समुदायले शनिबार आफ्ना ईष्टदेव गोबिन्द गणिनाथको पूजापाठ तथा कलश शोभा यात्राको भव्य आयोजना सम्पन्न गरेको छ।
विहानैदेखि मन्त्रोच्चारणसहित पूजापाठ आरम्भ गरी पवित्र कोशी नदीको जलले कलश भरेर नगरपरिक्रमा गरिएको थियो। शोभा यात्रामा स्थानीय बृद्ध, महिला, युवा र बालबालिकासहित सैकडौं श्रद्धालुहरूको सहभागिता रह्यो। बाजागाजा, भजन–कीर्तन, सांस्कृतिक झाँकी र नृत्य प्रस्तुतिले वातावरण उत्साहपूर्ण बनेको थियो।
सहभागीहरूले बाटोभरि “गोबिन्द गणिनाथकी जय” भन्दै श्रद्धा र आस्था प्रकट गरेका थिए। समुदायका अगुवा बिनोद साह, लालबाबु साह, प्रमोद साहले धार्मिक परम्पराको निरन्तरता र भावी पुस्तामा यसको महत्व उजागर गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनीहरूका अनुसार यसले धार्मिक श्रद्धासँगै सामाजिक एकता र भाइचारा सुदृढ हुने सन्देश दिन्छ।
स्थानीय बासिन्दाले यसलाई धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतिकका रूपमा व्याख्या गरेका छन्। प्रत्येक वर्ष निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रमलाई आगामी दिनमा अझ भव्य बनाउन प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यस वर्षको शोभा यात्रामा पूजापाठसँगै सामूहिक भोज, शुभकामना आदान–प्रदान, ज्येष्ठ नागरिकद्वारा परम्परागत कथावाचन र युवाद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रमले सम्पूर्ण नगरलाई धार्मिक र सांस्कृतिक रंगमा रंगाएको थियो भने सहभागीहरूको श्रद्धा र उत्साहले वातावरण मंगलमय बनेको थियो।
प्रकाशित मिति: २०२५-०८-२३ , समय : १९:१७:४४ , 9 hours अगाडि