काठमाडौंकाे जनप्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु , दर्जनौं घाइते , नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी
सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु
मिति: २०२५-०९-०८ , समय : १५:१८:४७ , शुभ नारायण यादव
मिति: २०२५-०९-०८ , समय : १५:१८:४७ , शुभ नारायण यादव
शुभ नारायण यादव
काठमाण्डाै । ‘जेन जी’ भनेर चिनिने नव युवापुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा सिभिल अस्पतालमा एक जनाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले एक जनाको ज्यान गएको र अहिले अस्पताल घाइतेहरूले भरिन थालेको जानकारी गराउनभुएको छ । ज्यान गुमाउने व्यक्तिकाे विवरण खुलिसकेकाे छैन ।
सिभिल अस्पतालभित्रका अरू बिरामीलाई उठाएर प्रदर्शनकारी घाइतेलाई राख्नुका साथै कतिपय शय्या बाहिर निकालेर घाइतेको उपचार भइरहेको छ । यस्तै बानेश्वरको एभरेस्ट अस्पताल पनि घाइतेहरूले भरिन थालेको छ ।
यता काठमाण्डाैको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्रमा जेन जीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ ।
‘जेन जी’ पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको कार्यालयले फेरि अर्को सूचना निकालेर शीतल निवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु लगाएको हो ।
यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शङ्खमूल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।
प्रकाशित मिति: २०२५-०९-०८ , समय : १५:१८:४७ , 19 hours अगाडि