जेनजीको प्रदर्शनका क्रममा भागेका झण्डै १ हजार ५ सय ६७ कैदीबन्दी र थुनुवा पक्राउ

मिति: २०२५-०९-१२ , समय : १०:०८:४१ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डौ । जेनजीको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका थुनुवामध्ये एक हजार पाँच सय ६७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ ।

नियन्त्रणमा लिइएकामा एक हजार पाँच सय नौ जना कैदीबन्दी र ५८ जना थुनुवा छन् । अझै १२ हजार पाँच सय ३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले सात सय ९५ जना थुनुवा पनि फरार रहेकाले खोजी भइरहेको बताउनुभयो ।

प्रहरी प्रधान कार्यालयले फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुको सम्पर्कमा आउन सार्वजनिक रूपमा अनुरोध गरिसकेको छ । कारागार व्यवस्थापान विभागले पनि देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दीलाई तत्काल फर्किन आग्रह गरेको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्तिमार्फत आफू बसेको कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा यो सूचनालाई आधार मानेर नआउनेलाई कारागार ऐन, २०७९ र प्रचलित कानूनबमोजिम कारबाही हुने उल्लेख छ ।

प्रकाशित मिति: २०२५-०९-१२ , समय : १०:०८:४१ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित